मध्यपूर्व युद्धका कारण विश्वमा खाद्य सुरक्षा र अर्थतन्त्रमा गम्भीर संकट
काठमाडौं– मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी खाद्य सुरक्षा र अर्थतन्त्रमा गम्भीर संकट आउन सक्ने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले संयुक्त चेतावनी दिएका छन् ।

विश्व बैंक र आईएमएफ र डब्लुएफपीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिअनुसार यस युद्धले आधुनिक इतिहासमै ऊर्जा बजारमा सबैभन्दा ठूलो अवरोध सिर्जना गरेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
तेल, प्राकृतिक ग्यास र रासायनिक मलको मूल्यमा भएको भारी वृद्धि तथा ढुवानीमा देखिएका समस्याले गर्दा खाद्यान्नको मूल्य अनियन्त्रित भई विश्वभर खाद्य असुरक्षा बढ्ने निश्चित देखिएको विज्ञप्तिमा उल्लेख छ ।
![]() |
![]() |
![]() |
|---|
यो संकटको सबैभन्दा ठूलो मार न्यून आय भएका र आयातमा निर्भर मुलुकहरूमा पर्नेछ। विशेष गरी ती देशहरू जहाँ पहिलेदेखि नै ऋणको बोझ उच्च छ र सरकारी ढुकुटी कमजोर छ, त्यहाँका सरकारहरूलाई आफ्ना नागरिकलाई भोकमरीबाट जोगाउन थप कठिन हुनेछ। इन्धन र खाद्यान्नको मूल्य बढ्दा सरकारले कमजोर परिवारहरूलाई दिने राहत वा सहयोग गर्ने क्षमतामा समेत ह्रास आउने चेतावनी दिइएको छ ।
यी तीनवटै संस्थाहरूले परिस्थितिको नजिकबाट अनुगमन गरिरहेको र संकटबाट प्रभावित भएकाहरूलाई सहयोग गर्न उपलब्ध सबै संयन्त्रहरू प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले आ–आफ्नो कार्यक्षेत्र र म्यान्डेटअनुसार मानिसहरूको जीवन र जीविकोपार्जन जोगाउन तथा भविष्यमा आर्थिक स्थिरता, वृद्धि र रोजगारीका आधारहरू निर्माण गर्न सहकार्य गर्ने बताएका छन्। यो संकटले मध्यपूर्वको सीमा नाघेर विश्वव्यापी रूपमै आर्थिक र सामाजिक उथलपुथल ल्याउन सक्नेमा उनीहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।



