सम्राट चौधरीले सम्हाले बिहारको मुख्यमन्त्री, उनको राजनीतिक यात्रा
काठमाडौं– भारतको बिहार राज्यमा सम्राट चौधरी नयाँ मुख्यमन्त्री बनेका छन्। साथै, जनता दल (युनाइटेड)का वरिष्ठ नेता विजय कुमार चौधरी र बिजेन्द्र प्रसाद यादव उपमुख्यमन्त्री नियुक्त भएका छन्। तीनै जनाले आज पटनामा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

शपथग्रहण कार्यक्रममा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन तथा केन्द्रीय मन्त्री जे.पी. नड्डा उपस्थित थिए। राज्यपाल सैयद अता हसनैनले तीनै जनालाई शपथ ग्रहण गराएका थिए। कार्यक्रम सामान्य तर औपचारिक रूपमा सम्पन्न गरिएको थियो।
अब मई महिनामा मन्त्रिपरिषद् विस्तार गर्दै चिराग पासवानको लोक जनशक्ति पार्टी (रामविलास), जीतनराम मांझीको हिन्दुस्तानी आवाम मोर्चा र उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक मोर्चाका नेताहरूलाई पनि सरकारमा सहभागी गराउने तयारी रहेको बताइएको छ।
![]() |
![]() |
![]() |
|---|
यसअघि मुख्यमन्त्री रहेका नीतीश कुमारले मंगलबार पदबाट राजीनामा दिएका थिए। उनले राज्यपालसमक्ष आफ्नो राजीनामा बुझाउँदै मन्त्रिपरिषद् विघटन गरिएको जानकारी दिएका थिए।
राजीनामापछि उनले सन् २००५ देखि राज्यमा कानुनको शासन स्थापित गर्न र सबै वर्गको विकासका लागि काम गरिएको उल्लेख गर्दै जनतालाई धन्यवाद दिएका थिए। साथै, नयाँ सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
सम्राट चौधरीको राजनीतिक यात्रा
Image Source: © https://mulpatra.com
सम्राट चौधरीको राजनीतिक यात्रा राष्ट्रिय जनता दल (आरजेडी) बाट सुरु भएको हो, जहाँ उनले लालु प्रसाद यादवको नेतृत्वमा राजनीति सिकेका थिए। उनका पिता शकुनी चौधरी पनि लालु प्रसाद यादवका निकट सहयोगी मानिन्थे।
सम्राटले सन् १९९० मा राजनीतिक जीवन सुरु गरेका थिए। सन् १९९९ मा राबड़ी देवी नेतृत्वको सरकारमा उनी कृषि मन्त्री बनेका थिए।
उनी सन् २००० र २०१० मा परबत्ता निर्वाचन क्षेत्रबाट विधायक निर्वाचित भएका थिए। सन् २००५ पछि आरजेडी सत्ता बाहिर हुँदा पनि उनले पार्टीमै रहँदै बिहार विधानसभा विपक्षका प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए।
करीब दुई दशक आरजेडीमा सक्रिय रहेपछि उनले सन् २०१४ मा जनता दल (यू) मा प्रवेश गरेका थिए।
जनता दल (यू) मा लामो समय नटिकेपछि उनले करिब तीन वर्षपछि भारतीय जनता पार्टी (बीजेपी) मा प्रवेश गरे। त्यहाँ उनलाई प्रदेश उपाध्यक्ष बनाइयो र पछि विधान परिषद् सदस्य बनाइयो।
सन् २०२० को विधानसभा चुनावपछि उनी नीतीश कुमार नेतृत्वको सरकारमा मन्त्री बने। त्यसपछि मार्च २०२३ मा उनलाई बिहार बीजेपीको प्रदेश अध्यक्ष नियुक्त गरिएको थियो।
अब मुख्यमन्त्री पदमा पुगेसँगै सम्राट चौधरीको राजनीतिक जीवनमा नयाँ अध्याय सुरु भएको छ।
एजेन्सीबाट
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



