दैनिक औसत ८२ करोड ५६ लाखको आयात व्यापार
काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्म नेपालले दैनिक औसत ८२ करोड ५६ लाख रुपैयाँबराबरको निर्यात व्यापार गरेको छ ।

आर्थिक वर्ष २०८२–८३ को चैतसम्ममा २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँको निर्यात व्यापार पुगेको हो । यसलाई दैनिक औसतमा हेर्दा ८२ करोड ६५ लाख ६६ हजार हुन आउँछ ।
भन्सार विभागका अनुसार चालु आवको निर्यात व्यापार अघिल्लो आवको नौ महिनाको तुलनामा १८.४६ प्रतिशतले बढेको हो । चालु आवको सुरुदेखि नै निर्यात व्यापार उच्च दरले बढ्दै आएको छ ।
![]() |
![]() |
![]() |
|---|
अघिल्लो वर्षको चैतसम्म नेपालले १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँबराबरका वस्तु निर्यात गरेको थियो । यो वर्षको कुल निर्यातमध्ये ३१ अर्बको चैतमा भएको हो ।
विभागका अनुसार चैतसम्म आयात व्यापार १३.८२ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब ४९ करोड पुगेको छ । यस्तै, व्यापार घाटा पनि १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ ।
आयात व्यापार पहिलो पटक एकै महिनामा २ खर्ब नाघेको छ । चैतमा मात्र २ खर्ब १ अर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्ष ९ महिनामा १३ खर्ब ९ अर्ब ५३ करोडको वस्तु आयात भएको थियो ।
Image Source: © https://mulpatra.com
व्यवसायीहरुका अनुसार अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजार नै महँगिएका कारण आयात कारोबार रकमको अंक पनि केही बढेको छ । चालु वर्ष माघमा ७ महिनायताकै उच्च भएकोमा फागुनमा घटेको थियो । माघमा १ खर्ब ८४ अर्बको वस्तु आयात भएकामा फागुनमा १ खर्ब ६६ अर्बमा सीमित भएको थियो ।
विभागको तथ्यांकअनुसार चालु आवको साउनमा १ खर्ब ४३ अर्बको आयात हुँदा भदौमा १ खर्ब ६२ अर्ब ११ करोड र असोजमा १ खर्ब ६२ अर्बको आयात भएको छ । यस्तै, कात्तिकमा १ खर्ब ४१ अर्ब, मंसिरमा १ खर्ब ५७ अर्ब र पुसमा १ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु भित्रिएको तथ्यांक छ ।
विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार आयात–निर्यात अनुपात ६.९६ प्रतिशतबाट घटेर ६.६९ प्रतिशतमा आएको छ । आयातको तुलनामा निर्यात न्यून हुँदा व्यापार घाटा ९ महिनामा १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब पुगेको छ । अघिल्लो वर्षको ९ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब थियो ।
चैतसम्म १ खर्ब ३ अर्ब रुपैयाँ बराबरको डिजेल आयात भएको छ भने यस अवधिमा पेट्रोल पनि ५० अर्ब ३९ करोडको आयात भइसकेको छ । यस्तै, ४१ अर्ब ६४ करोडको एलपी ग्यास तथा १६ अर्ब २ करोडको हवाई इन्धन आयात भएको तथ्यांक छ । यस अवधिमै ९६ अर्ब ७२ करोड रुपैयाँ मूल्य बराबरको कच्चा भटमासको तेल आयात भएको छ ।
निकासीतर्फ सबैभन्दा बढी प्रशोधित भटमासको तेल भएको छ। चैतसम्ममा ९० अर्ब ७१ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । यस अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा सोयाविन तेलसहित अलैंची, यार्न, जुट तथा जुटका सामान रहेका छन् ।
यसैगरी ऊनी गलैंचा, तयारी पोशाक, पामतेल, सूर्यमुखी तेल, उनी फेल्टका उत्पादन पनि बढी निकासी हुने वस्तुको सूचीमा रहेका छन् । यसबाहेक जुस, चिया, फलाम तथा फलामका उत्पादनहरु, प्लाइउड, पश्मिना शल, पिना, चाऊचाऊ, जुत्ता चप्पल, कत्था, सिमेन्ट, कपडा, कुकुर बिरालाका आहारा, जडीबुटी र नेपाली हातेकागज प्रमुख रुपमा निकासी भइरहेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



