९ महिनामा वाणिज्य बैंकमा ७१ खर्बको निक्षेप

९ महिनामा वाणिज्य बैंकमा ७१ खर्बको निक्षेप
  • ६ बैशाख २०८३, आईतवार २१:०७

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रले निक्षेप संकलनमा नयाँ उचाइ चुमेको छ । पछिल्लो ९ महिनाको तथ्यांकलाई हेर्दा सर्वसाधारण र संस्थागत निक्षेपकर्ताको विश्वास बैंकहरूमा अझ प्रगाढ देखिएको छ ।

mulpatra

२०८२ साल असार मसान्तको तुलनामा चैत मसान्तसम्म आइपुग्दा २० वटा वाणिज्य बैंकहरूको कुल निक्षेप ९.१४ प्रतिशतले वृद्धि भएको छ ।

तथ्यांकअनुसार २०८२ असारमा बैंकहरूसँग कुल ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ निक्षेप रहेकोमा चैत मसान्तसम्म आइपुग्दा यो रकम ५ खर्ब ९७ अर्ब १७ करोड रुपैयाँले बढेर ७१ खर्ब २७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

mulpatra mulpatra mulpatra

यो वृद्धिले बजारमा तरलताको अवस्था सहज रहेको र बैंकहरू निक्षेप परिचालनमा आक्रामक देखिएको संकेत गर्दछ । अर्थतन्त्रका अन्य सूचकहरू सुस्त देखिए पनि बैंकहरूमा पैसा थुप्रिने क्रम नरोकिनुले वित्तीय प्रणालीमा निक्षेपको आधार मजबुत बन्दै गएको देखिन्छ ।

निक्षेपको भण्डारः कसको पकड कति ?

निक्षेप संकलनको दौडमा ग्लोबल आइएमई बैंकले आफ्नो वर्चस्वलाई कायम गरेको छ । असार मसान्तमा ५ खर्ब ७५ अर्ब ५ करोड रुपैयाँ निक्षेप रहेको यस बैंकले चैत मसान्तसम्ममा ६ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ पु¥याएर आफूलाई सबैभन्दा ठूलो बैंकको रूपमा उभ्याएको छ ।

Image Source: © https://mulpatra.com

ग्लोबल आइएमईपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ठूलो फड्को मार्दै ५ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । निजी क्षेत्रको अर्को बलियो प्रतिस्पर्धी नबिल बैंक पनि धेरै पछि छैन । जसको खातामा ५ खर्ब ८८ अर्ब ८४ करोड रुपैयाँ मौज्दात छ । यी तीन बैंकहरूले मात्रै बजारको ठूलो हिस्सा ओगटेका छन् ।

अर्कोतर्फ केही बैंकहरू भने निक्षेप संकलनमा तुलनात्मक रूपमा सुस्त देखिएका छन् । सबैभन्दा कम निक्षेप हुनेको सूचीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ ।जसको निक्षेप १ खर्ब ४७ अर्ब ३९ करोड रुपैयाँ मात्र रहेको छ ।

त्यस्तै, माछापुच्छ्रे बैंकको २१६ अर्ब ३ करोड रुपैयाँ र सिटीजन बैंकको २ खर्ब १५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप रहेको छ । यी बैंकहरूले ठूलो आकार बनाउनुभन्दा पनि गुणस्तरीय र छनोटपूर्ण बैंकिङमा जोड दिएका कारण निक्षेपको अंक अन्यको तुलनामा कम देखिएको विश्लेषण गर्न सकिन्छ ।

वृद्धि गर्नेमा कसले मार्यो बाजी, को पर्यो सुस्त ?

निक्षेपको अंक मात्र ठूलो हुनु उपलब्धि होइन । वृद्धिको रफ्तार (ग्रोथ रेट) ले बैंकको आक्रामकतालाई दर्शाउँछ । प्रतिशतका आधारमा हेर्दा यो अवधिमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ । यस बैंकले ९ महिनाको अवधिमा १९.९२ प्रतिशतको छलाङ मारेको छ ।

त्यस्तै, माछापुच्छ्रे बैंकले पनि निक्षेपको आकार सानो भए तापनि १६.२४ प्रतिशतको उत्साहजनक वृद्धि हासिल गरेको छ । सरकारी स्वामित्वकै नेपाल बैंकले पनि १५.८३ प्रतिशतको वृद्धि गर्दै आफूलाई अब्बल साबित गरेको छ भने विदेशी संयुक्त लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि १५.६८ प्रतिशतको वृद्धिदर हासिल गर्दै व्यापार विस्तारमा ध्यान दिएको देखिन्छ ।

तर, सबै बैंकको चित्र सुखद भने छैन । प्रभु बैंकका लागि यो अवधि केही चुनौतीपूर्ण देखिएको छ । असारको तुलनामा यस बैंकको निक्षेप २.१३ प्रतिशतले घटेर ३ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँमा खुम्चिएको छ । रकमका आधारमा यो करिब ७ अर्ब ४३ करोड रुपैयाँको गिरावट हो ।

यस्तै, सिटीजन बैंक र एभरेष्ट बैंकको वृद्धिदर पनि १ प्रतिशतभन्दा तल (क्रमशः ०.८३ प्रतिशत र १.२६ प्रतिशत) सीमित भएको छ । कुमारी बैंक र प्राइम बैंकजस्ता पुराना खेलाडीहरूको वृद्धिदर पनि ३ प्रतिशतभन्दा कम रहनुले उनीहरू यो अवधिमा निक्षेप बढाउनुभन्दा पनि भएको निक्षेप व्यवस्थापन गर्नमा केन्द्रित रहेको बुझ्न सकिन्छ ।

समग्रमा बैंकहरूबीच निक्षेप तान्न भइरहेको यो लुकामारीले आगामी दिनमा ब्याजदर र कर्जा प्रवाहमा कस्तो असर पार्छ भन्ने विषय रोचक हुने देखिन्छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com