राष्ट्रपति रामचन्द्र पौडेलले दिए बुद्धजयन्तीको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले दिए बुद्धजयन्तीको शुभकामना
  • १८ बैशाख २०८३, शुक्रबार ०८:१२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धजयन्तीको शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

mulpatra

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ । यस दिन गुम्बा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजाअर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ ।

पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएका छन् ।

mulpatra mulpatra mulpatra

राष्ट्रपति पौडेलले लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म भएको स्मरण गर्दै उनका उपदेशले मानव जातिलाई शान्ति र आनन्दतर्फ डोर्‍याएको उल्लेख गरेका छन् । बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको पनि उनले बताएका छन् ।

सन्देशमा भनिएको छ, “२५७०औँ बुद्ध जयन्तीको यस शुभ अवसरमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”