मन्त्रालय भन्छ ओपिडी सञ्चालन गर, चिकित्सक संघ भन्छ निर्णय अव्यवहारिक
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगातार सार्वजनिक बिदाका दिनहरूमा पनि देशभरका सरकारी अस्पतालमा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्न दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।

मन्त्रालयले वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेकाले सेवाग्राहीलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार लामो बिदाका कारण बिरामीहरूले नियमित सेवा पाउन कठिन हुने भएकाले यस्तो व्यवस्था गरिएको बताइएको छ।
तर, चिकित्सक संघले उक्त निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ। संघले जारी गरेको प्रेस विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि श्रमिक नै भएकाले अन्तर्राष्ट्रिय श्रमिक दिवसजस्ता अवसरमा बिदा पाउनु उनीहरूको अधिकार भएको उल्लेख गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
संघका महासचिव डा. सञ्जिब तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा इमर्जेन्सी लगायतका अत्यावश्यक सेवा बिदाका दिनमा पनि निरन्तर सञ्चालन भइरहेका हुन्छन्। तर ओपिडी सेवा अत्यावश्यक सेवा नभएकाले एक–दुई दिन बन्द हुँदा ठूलो असर पर्दैन।’
संघले अन्य पेशाकर्मीसरह चिकित्सकहरूलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरूमा बिदा दिने प्रचलन रहेको स्मरण गराउँदै मन्त्रालयको निर्देशनले स्वास्थ्यकर्मीमाथि अतिरिक्त कार्यभार थोपर्ने र उनीहरूको मनोबल घटाउने चेतावनी दिएको छ।
यता सर्वसाधारण विरामीलाई भने राज्यले हप्तामा दुई दिन विदा दिन थालेकाले मर्का परिरहेको छ । दुई दिन लगातार ओपीडी सेवा बन्द हुँदा विरामीले सास्ती खेपीरहेका छन् ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



