तेलमा २ रुपैयाँ घट्दा, प्रतिसिलिण्डर ग्यासको भाउ १५० बृद्धि
काठमाडौं–नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको मूल्यमा उच्च बढोत्तरी गरेको छ । अब एक सिलिण्डर ग्यासको भाउ १५० रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

यो नयाँ मूल्य विहीबार (१७ वैशाख) को मध्येरातीदेखि नै लागू हुने छ । ग्यासमात्रै होइन, हवाई इन्धनको भाउमा पनि बृद्धि गरिएको निगमले एक प्रेस विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।
नयाँ मूल्य सूची अनुसार अब १ सिलिण्डर ग्यासको मूल्य २१६० रुपैयाँ पुगेको छ । यसअघि यो ग्यास २ हजार १० रुपैयाँमा पाइन्थ्यो । लामो समय १९१० रुपैयाँमा रहेको ग्यासको भाउ यस अघि नै १०० रुपैयाँ महँगिएको थियो भने अहिले एकसाथ १५० रुपैयाँ महँगिएको हो ।
![]() |
![]() |
![]() |
|---|
अहिले आधा सिलिण्डर (७.१ किलो) ग्यासको भाउ एक हजार ८० रुपैयाँ तोकिएको छ, जुन विहीबारसम्म १ हजार ५ रुपैयाँमा पाइँदै आएको थियो ।
त्यस्तै काठमाडौँ स्थित त्रिभुवन विमानस्थलबाट हवाई इन्धन विक्री गर्दा यसअघिको विक्रीमूल्य प्रतिकिलोलिटर १७८५ बाट बढाएर १८३१ अमेरिकी डलर पुर्याइएको छ ।
पेट्रोलको भाउ भने लिटरमा २ रुपैयाँ सस्तिएर २१७ रुपैयाँमा झरेको छ । डिजेल र मट्टीतेलको मूल्य भने लिटरमै १२ रुपैयाँ सस्तिएर २२५ रुपैयाँ पुगेको छ । लामो समयसम्म डिजेलको तुलनामा पेट्रोल महँगो हुने गरेको भए पनि पछिल्लो समय डिजेल महँगो भएको थियो ।
Image Source: © https://mulpatra.com
अमेरिका र इजरायलले इरानमाथि सैन्य हमला गरेपछि संसारभर पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि हुन थालेको छ । पछिल्लो समय इरानी सेनाले स्ट्रेट अफ हर्मुज भनिने फारसको खाडीको एक साँघुरो सामुद्रिक घुम्तीमा अवरोध गरेर बाटो रोकिदिएपछि पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खला नराम्रोसँग प्रभावित बन्न पुगेको थियो ।
आयल नियमले यसरी गरिएको मूल्य समायोजनका बाबजुद पनि पाक्षिक (प्रत्यक १५ दिन) रुपमा आफूलाई १ अर्ब ८१ करोड रुपैयाँ घाटा परिरहेको बताएको छ । तर नेपाली उपभोक्ता, जो ग्यासमा खाना पकाएर खाने गर्छन्– उनीहरुका लागि भने यो मूल्यबृद्धिको खबरले पीडा दिने छ । यसले गरिब वा कम आय भएका परिवारलाई भान्सा चलाउनै मुस्किल पर्ने अवस्था आउन थालेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



