जोखिम मोल्न बाध्य विपी राजमार्गमा यात्रा गर्ने यात्रु, राती गरियो ८९ जना यात्रुको उद्धार
काठमाडौं । विपी राजमार्ग निर्माण ढिलाइका कारण उक्त मार्ग हुँदै यात्रा गर्ने यात्रु जोखिम मोलेर यात्रा गर्न वाध्य भएका छन् । हिजो परेको अविरल वर्षासँगै बढेको रोशी खोलाको बहावका कारण विपी राजमार्गमा यात्रा गरिरहेका यात्रुहरू फसेका थिए । सोमबार साँझ पूर्वबाट काठमाडौं आउँदै गरेका पाँच वटा माइक्रोबस बीच धारमै फसेका थिए।

पानी पर्ने वित्तिकै बढेको खोलामा फसेका ८९ जना यात्रुहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मंगलबार बिहान करिब १ बजे सकुशल उद्धार गरेको हो।
प्रहरीका अनुसार वर्षाका कारण विपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका थिए। सुरक्षा निकायले बारम्बार सतर्कता अपनाउन र जोखिमयुक्त स्थानमा सवारी नचलाउन निर्देशन दिँदा पनि चालकहरूले लापरवाहीपूर्वक सवारी चलाएको पाइएको छ।
![]() |
![]() |
![]() |
|---|
घटनामा संलग्न पाँच जना माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
उद्धारपछि सबै यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। प्रहरी प्रशासनले वर्षायाममा नदी तथा खोलानाला पार गर्दा विशेष सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन सर्वसाधारणलाई पुनः आग्रह गरेको छ।



