Close

Recent Posts

एक्लिँदै ओली, गृह प्रदेश पछि लुम्बिनीका बहुमत नेताहरु पार्टी पुनर्गठनको पक्षमा

एक्लिँदै ओली, गृह प्रदेश पछि लुम्बिनीका बहुमत नेताहरु पार्टी पुनर्गठनको पक्षमा
  • ५ असार २०८३, शुक्रबार ०८:४५

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टीभित्र नेतृत्व परिवर्तन र पुनर्गठनको दबाब बढ्दै गएको छ । गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि विभिन्न तहका नेताहरूले नेतृत्वले जिम्मेवारी लिनुपर्ने र एमालेलाई पुनर्गठन गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।

mulpatra

ओलीको गृहप्रदेश कोशीमा यस्तो माग बलियो रूपमा उठेको केही दिनमै लुम्बिनी प्रदेशका बहुमत नेताहरूले पनि पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको पक्षमा धारणा राखेका छन् ।

पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा आयोजित बैठकमा प्रदेश कमिटीका पदाधिकारी, १२ जिल्लाका पदाधिकारी तथा केन्द्रीय नेताहरू सहभागी थिए ।

mulpatra mulpatra mulpatra

बैठकमा अधिकांश सहभागीले वर्तमान नेतृत्व र कार्यशैलीमा सुधार नगरे आगामी चुनावमा पार्टी झन् कमजोर बन्ने चेतावनी दिएका थिए । सहभागी नेताहरूका अनुसार प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लाका पदाधिकारीले अध्यक्ष ओलीको नेतृत्व परिवर्तनसहित पार्टी पुनर्गठन आवश्यक रहेको धारणा राखेका थिए ।

यसअघि कोशी प्रदेशमा भएको सुझाव संकलन कार्यक्रममा पनि जिल्ला तथा क्षेत्रीय तहका नेताहरूले एमाले पुनर्गठनको माग गरेका थिए । ओलीको गृहजिल्ला झापाका नेताहरूले समेत पार्टीलाई नयाँ ढंगले अघि बढाउन पहिलो पुस्ताले मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए । पार्टीभित्र पुस्तान्तरण, नेतृत्व हस्तान्तरण र संगठनात्मक सुधार नगरे एमालेको भविष्य संकटमा पर्न सक्ने चेतावनी उनीहरूले दिएका थिए ।

निर्वाचनपछि बसेको एमाले सचिवालय बैठकमा समेत अध्यक्ष ओली अल्पमतमा परेको चर्चा छ । बैठकमा अधिकांश पदाधिकारीले नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउँदै पार्टीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने धारणा राखेका थिए । यद्यपि केही नेताहरूले केवल अध्यक्ष परिवर्तनले मात्र समस्या समाधान नहुने भन्दै सम्पूर्ण नेतृत्व तहको पुनर्संरचना आवश्यक रहेको मत राखेका छन् ।

Image Source: © https://mulpatra.com

लुम्बिनी बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्राप्त सुझावहरूलाई गम्भीर रूपमा लिएर पार्टी नेतृत्वसमक्ष प्रस्तुत गरिने बताएका छन् । पार्टीभित्र बढ्दो बहस र पुनर्गठनको मागबीच अब केन्द्रीय कमिटी बैठकलाई निर्णायक रूपमा हेरिएको छ ।

पार्टीभित्र विशेष महाधिवेशन, नेतृत्व हस्तान्तरण तथा संगठनात्मक पुनर्गठनका विषयमा समेत छलफल सुरु भएकाले आगामी दिनमा एमालेको आन्तरिक राजनीति थप रोचक बन्ने संकेत देखिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com