हवाई प्रदर्शन क्रममा आकाशमै ठोक्किए अमेरिकी सेनाको दुई जहाज
काठमाडौं– अमेरिकाको आइडाहो राज्यमा आयोजित एक एयर शोका क्रममा अमेरिकी नौसेनाका दुई सैन्य विमान आकाशमै ठोक्किएको छ ।

आइतबार पश्चिमी आइडाहोस्थित माउन्टेन होम एयर फोर्स बेसमा नौसेनाको इलेक्ट्रोनिक अट्याक स्क्वाड्रन–१२९ का दुई वटा ईए–१८जी ग्राउलर विमान हवाई प्रदर्शन गरिरहेका बेला एकआपसमा ठोक्किएका हुन् ।
विमानमा सवार सबै चार चालकदलका सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
अमेरिकी प्रशान्त बेडाअन्तर्गत नौसैनिक हवाई फौजकी प्रवक्ता कमान्डर अमेलिया उमायामले दुर्घटनापछि सबै चालकदल सदस्यले प्यारासुटमार्फत सुरक्षित रूपमा विमानबाट बाहिर निस्किएको जानकारी दिइन् ।
उनीहरूको अवस्था स्थिर रहेको र अन्य कोही घाइते नभएको जनाइएको छ ।
दुर्घटनापछि एयर फोर्स बेस तत्काल बन्द गरिएको थियो भने बाँकी एयर शो रद्द गरिएको आयोजकहरूले बताएका छन् ।
Image Source: © https://mulpatra.com
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चारवटा प्यारासुट खुल्दै गरेको देखिन्छ भने दुवै विमान आधार क्षेत्र नजिकै भुइँमा खसेर आगोको मुस्लोमा परिणत भएका थिए ।
दुर्घटनास्थल राजधानी बोइसीबाट करिब ८० किलोमिटर दक्षिणमा पर्छ । प्रत्यक्षदर्शी शेन ओग्डेनले विमानहरू एकअर्काको निकै नजिक पुगेपछि ठोक्किएको देखेको बताएका छन् ।
उनले खिचेको भिडियोमा विमानहरू ठोक्किएपछि सँगै घुम्दै तल खसेको र चालकदल बाहिर निस्केपछि विमान जमिनमा ठोक्किँदा ठूलो विस्फोट भएको देखिन्छ ।
एउटा जहाजको अनुमानित मूल्य ६ करोड ७० लाख डलर पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ईए–१८जी ग्राउलर अमेरिकी लडाकु विमान एफ÷ए–१८ सुपर हर्नेटको एक संस्करण हो, जसमा उन्नत इलेक्ट्रोनिक युद्ध प्रणाली जडान गरिएको हुन्छ ।
विज्ञहरूले चालकदल सबै सुरक्षित रहनुलाई असाधारण घटना भनेका छन् । उड्डयन सुरक्षा विज्ञ जेफ गुज्जेट्टीका अनुसार सामान्यतया हवाई ठक्करमा चालकदललाई बाहिर निस्कने समय हुँदैन ।
तर यस घटनामा दुवै विमान केही समय सँगै जोडिएजस्तो अवस्थामा तल खसेकाले चालकदलका सदस्यहरू सुरक्षित बाहिर निस्कने समय पाएको हुनसक्ने अनुमान गरिएको छ ।
उनले प्रारम्भिक रूपमा यो यान्त्रिक खराबीभन्दा पनि पाइलटको समन्वय त्रुटिसँग सम्बन्धित हुन सक्ने बताएका छन् । अर्का उड्डयन विज्ञ जोन कोक्सले एयर शोका उडान अत्यन्त कठिन हुने र सामान्य त्रुटिको पनि ठूलो मूल्य चुकाउनुपर्ने बताए ।
घटनाको अनुसन्धान अमेरिकी नौसेनाले सुरु गरेको छ। चालकदल जीवित रहेकाले उनीहरूको बयानले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अपेक्षा गरिएको छ ।
यस वर्षको ‘गनफाइटर स्काइज’ एयर शो सन् २०१८ पछि पहिलो पटक आयोजना गरिएको थियो। त्यसबेला पनि एयर शोका क्रममा ह्याङ ग्लाइडर दुर्घटनामा एक पाइलटको मृत्यु भएको थियो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



