देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो। अदालतले काठमाडौं जिल्ला अदालतबाट चैत २४ गते जारी गरिएको पक्राउ पुर्जीका आधारमा देउवा दम्पतीलाई पक्राउ नगर्न तथा नगराउन आदेश दिएको जनाएको छ।
सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट हुने अनुसन्धान सम्बन्धी मुद्दाको क्षेत्राधिकार विशेष अदालतमा पर्ने उल्लेख गर्दै, जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जी अध्यादेश जारी भएसँगै स्वतः निष्क्रिय भएको प्रारम्भिक रूपमा देखिएको आदेशमा उल्लेख गरेको छ।
![]() |
![]() |
![]() |
|---|
गत वैशाख १८ गते जारी भएको सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संशोधनसम्बन्धी अध्यादेशमा विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यवस्था गरिएको छ।
सर्वोच्चले आदेशमा विशेष अदालतबाट पक्राउ पुर्जी जारी गर्न आवश्यक आधार र कारणसहित अनुमति प्रदान गरिएको प्रमाण अनुसन्धान मिसिलमा नदेखिएको पनि उल्लेख गरेको छ। त्यसैले काठमाडौं जिल्ला अदालतबाट जारी भएको पुरानो पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिएको अदालतले जनाएको छ।



