Close

Recent Posts

आज गणतन्त्र दिवसः जनताको संघर्षबाट स्थापित व्यवस्थाको १८ वर्ष

आज गणतन्त्र दिवसः जनताको संघर्षबाट स्थापित व्यवस्थाको १८ वर्ष
  • १५ जेष्ठ २०८३, शुक्रबार ०७:०५

काठमाडौं । नेपाली जनताको लामो राजनीतिक संघर्ष, त्याग र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको १८औँ वर्षगाँठ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं २०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाको बैठकले २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ।

mulpatra

तत्कालीन सात राजनीतिक दलद्वारा सञ्चालित जनआन्दोलन र तत्कालीन नेकपा (माओवादी) को सशस्त्र संघर्षको संयुक्त उपलब्धिका रूपमा स्थापित गणतन्त्रले राज्यसत्ताको केन्द्रमा जनतालाई स्थापित गरेको मानिन्छ। गणतन्त्र घोषणासँगै नेपाली नागरिकले सार्वभौम अधिकार, समावेशी लोकतन्त्र, सामाजिक न्याय र नागरिक सर्वोच्चताको प्रत्याभूति प्राप्त गरेका थिए।

गणतन्त्र दिवसका अवसरमा देशभर सरकारी तथा गैरसरकारी तहबाट विभिन्न कार्यक्रम आयोजना गरिएको छ। राजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ, जहाँ राष्ट्रपति, प्रधानमन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ।

mulpatra mulpatra mulpatra

सरकारले गणतन्त्र दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउन तीन दिनसम्म विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। स्वदेश तथा विदेशस्थित नेपाली नियोगहरूमा दीपावली, सांस्कृतिक कार्यक्रम तथा गणतन्त्रको महत्वबारे जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ।

गणतन्त्रले देशमा समावेशी प्रतिनिधित्व, संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक अधिकारहरूको विस्तार गरेको भए पनि सुशासन, आर्थिक समृद्धि, रोजगारी सिर्जना र जनअपेक्षा अनुसारको सेवा प्रवाह अझै चुनौतीका रूपमा रहेका छन्।

विभिन्न राजनीतिक दलका नेताहरूले गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, संविधानको रक्षा र नागरिक अधिकारप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले विकास, सुशासन, सामाजिक न्याय र राष्ट्रिय एकताको आधारमा गणतन्त्रलाई थप संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com