कृषि उत्पादनमा २ करोडसम्म लगानी गर्ने कृषकलाई ४० प्रतिशत अनुदान
काठमाडौं । सरकारले कृषि क्षेत्रको पुनरुत्थानलाई उच्च प्राथमिकतामा राख्दै कृषि तथा पशुजन्य उत्पादनमा न्यूनतम २ करोड रुपैयाँसम्म लगानी गर्ने व्यवसायिक कृषकलाई ४० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टम सुधार गर्ने नीति लिएको हो। कृषि क्षेत्रलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा विकास गर्दै व्यवसायिक कृषकलाई आकर्षित गर्ने लक्ष्यसहित विभिन्न प्रोत्साहन कार्यक्रम सार्वजनिक गरिएको छ।
सरकारले उत्पादन सुरु भएको मितिबाट लगातार चार वर्षसम्म वार्षिक १० प्रतिशतका दरले थप प्रोत्साहन उपलब्ध गराउने व्यवस्था पनि गरेको छ। यस्तै, वास्तविक कृषकलाई मल, बीउ, सिँचाइ, विद्युत् तथा कृषि बीमामा विशेष सहयोग प्रदान गरिने जनाइएको छ।

कृषि तथा पशु बीमाको प्रिमियममा ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ भने किसानबाट सिधै कृषि उपज खरिद गर्ने व्यवसायलाई सहुलियतपूर्ण ऋण र ब्याज अनुदानको सुविधा उपलब्ध गराइने भएको छ।
कृषि सेवा प्रणालीलाई किसानमैत्री बनाउँदै ‘किसान सेवा प्रणाली’का रूपमा विकास गरिने तथा डिजिटल कृषि सूचना प्रणाली सञ्चालनमा ल्याइने सरकारको योजना छ। देशभरका कृषि अनुसन्धान केन्द्रलाई सुदृढ बनाउँदै उन्नत तथा हावापानी अनुकूल बीउ विकास र उत्पादनमा जोड दिइने बजेटमा उल्लेख छ।
Image Source: © https://mulpatra.com
त्यसैगरी, किसान र क्रेताबीच करार खेती तथा अनुदान व्यवस्थापनलाई कानुनी आधार दिन सरकारले तत्काल सम्बन्धित विधेयक ल्याउने घोषणा गरेको छ। ठूला सिँचाइ आयोजनाका लागि आवश्यक स्रोत व्यवस्थापन गरी चालु वर्षमै निर्माण प्रक्रिया अघि बढाइने पनि सरकारको प्रतिबद्धता रहेको छ।
सरकारले यी कार्यक्रममार्फत कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
