Close

Recent Posts

किन पक्राउ परिन् टिकटकर तुलासा अधिकारी

किन पक्राउ परिन् टिकटकर तुलासा अधिकारी
  • १७ जेष्ठ २०८३, आईतवार ०९:४६

काठमाडौं । सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामबाट परिचित टिकटकर तुलसा अधिकारी अन्ततः पक्राउ परेकी छन्। नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले जारी गरेको रेड नोटिसका आधारमा उनलाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको हो।

mulpatra

प्रहरीका अनुसार अधिकारीविरुद्ध ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर आरोपहरूमा मुद्दा दायर भइसकेको छ। हाल उनी जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेकी छन् र अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।

अधिकारी पक्राउ पर्नुको मुख्य कारण उनीमाथि लागेको ठगी तथा सम्पत्ति शुद्धीकरणको आरोप हो। अनुसन्धानका क्रममा हुण्डी कारोबारमार्फत गैरकानुनी रूपमा रकम ओसारपसार गरी त्यसबाट आर्जित सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण गर्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा संलग्न रहेको दाबी अभियोजन पक्षले गरेको छ।

mulpatra

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीसहित ६ जनाविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ। यसअघि पनि उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बिगो दाबी गर्दै ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।

यस्तै, ललितपुरका एक व्यवसायीले अधिकारीविरुद्ध आफूलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै लामो समयसम्म ब्ल्याकमेल गरेको र त्यसक्रममा ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान लिएको आरोप लगाएका छन्। उक्त जाहेरीका आधारमा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा समेत अनुसन्धान अघि बढाइएको थियो।

Image Source: © https://mulpatra.com

प्रहरीका अनुसार मुद्दा दर्ता भएपछि अधिकारी नेपाल छाडेर विदेश पुगेकी थिइन्। पछिल्लो समय उनी चीनमा बस्दै आएकी भए पनि त्यहाँबाट थाइल्यान्ड पुगेपछि इन्टरपोलको सहयोगमा पक्राउ परेकी हुन्।

अब अदालतले थुनछेक सम्बन्धी निर्णय गरेपछि उनीविरुद्धको मुद्दाको थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com