Close

Recent Posts

प्रधानमन्त्रीको विवादास्पद टिप्पणी र पार्टी सभापति रबि लामिछानेको भारत भ्रमणसँगै हुनुले उब्जाएको प्रश्न

प्रधानमन्त्रीको विवादास्पद टिप्पणी र पार्टी सभापति रबि लामिछानेको भारत भ्रमणसँगै हुनुले उब्जाएको प्रश्न
  • १८ जेष्ठ २०८३, सोमबार ०८:२१

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको समय र त्यसको ठीकसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण हुन लागेकाले राजनीतिक वृत्तमा विभिन्न प्रश्नहरू उठेका छन् ।

mulpatra

विशेषगरी नेपाल–भारत सीमा विवाद जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको परम्परागत कूटनीतिक अडान कमजोर पार्छ कि भन्ने बहस चलिरहेका बेला सत्तारूढ दलका शीर्ष नेता भारत भ्रमणमा जानुले थप चासो बढाएको हो । कतिपयले यसलाई केवल संसदीय जवाफ दिने क्रममा भएको भाषिक वा राजनीतिक त्रुटि मानेका छन् भने केहीले यसले आगामी नेपाल–भारत राजनीतिक संवादको पृष्ठभूमिमा कुनै संकेत बोकेको हो कि भन्ने प्रश्न उठाएका छन् ।

प्रधानमन्त्रीले संसद्मा भारतसँगको सीमा विवाद संवादबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालले पनि कतिपय स्थानमा भारतको सीमा मिचेको दाबी गरेका थिए। उक्त अभिव्यक्तिपछि सीमा विवादको तथ्य, नेपालको कूटनीतिक अडान तथा सम्भावित प्रभावबारे प्रश्न उठेको छ ।

mulpatra mulpatra mulpatra

सरकारको नेतृत्व गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेको भारत भ्रमणका अघिल्लो दिन सदनमा आएर बोल्नुलाई गम्भिर षढयन्त्रका रुपमा समेत केहीले हेरेका छन् ।

लिपुलेक, लिम्पियाधुरा समेत समेटेर नेपालले नक्सा सार्वजनिक गरेपछि भारतसँगको सीमा विवाद अघि आएको थियो । सोही मार्ग हुँदै नेपालको जानकारी बेगर चीन र भारतले पारवहन सन्धीगरेपछि नेपालको भुमिबारे थप बहस चर्किएको बेला प्रधानमन्त्री बालेनको यो अभिव्यक्तिले भारतले लिपुलेक मिचेको कुरालाई बैद्यता दिन खोजे जस्तो देखिएको छ ।

प्रधानमन्त्रीको भनाइपछि पूर्वराजदूत, सीमाविद्, राजनीतिक नेतादेखि संविधानविद्सम्मले फरक–फरक प्रतिक्रिया दिएका छन् ।

Image Source: © https://mulpatra.com

कसले के भने ?
प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) का सदस्य तथा भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यले प्रधानमन्त्रीले फरक प्रकृतिका विषयलाई एउटै रूपमा प्रस्तुत गर्दा भ्रम सिर्जना भएको बताएका छन् ।

उनले भने, कालापानी–लिम्पियाधुरामा भएको राज्यस्तरको सैन्य अतिक्रमण र अन्य सीमा क्षेत्रमा स्थानीय बासिन्दाहरूबीच भोगचलनको क्रममा हुने जग्गाको घरायसी खिचोला नितान्त फरक कुरा हुन् । कूटनीति र देशको सीमा जस्तो संवेदनशील विषयमा यसरी सतही रूपमा बोल्दा राष्ट्रिय हितमा आँच पुग्छ भन्दै प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार रहेको बताएका छन् ।

आचार्यका अनुसार नेपालले भारतको सीमा मिचेको भन्ने औपचारिक अवस्था कतै छैन भन्दै नेपालले अन्तर्राष्ट्रिय र द्विपक्षीय मञ्चहरूमा ऐतिहासिक दस्तावेज र नक्साका आधारमा जुन बलियो कानूनी अडान राख्दै आएको थियो, प्रधानमन्त्रीको यो गैरजिम्मेवारपूर्ण भनाइले त्यसलाई कमजोर बनाउने काम गरेको छ भन्दै आपत्ति प्रकट गरेका छन् ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल–भारत सीमा क्षेत्रमा ‘क्रस होल्डिङ अकुपेसन’ अर्थात् दुवैतर्फका नागरिकले एकअर्काको जमिन भोगचलन गर्ने अवस्था रहेको तर त्यसलाई सीमा अतिक्रमण भन्न नमिल्ने बताएका छन् ।

उनले स्पष्ट भने, “नेपालले भारतको सीमा मिचेको कतै पनि छैन।” उनका अनुसार सीमा क्षेत्रमा केही स्थानमा नदीको धार परिवर्तन तथा स्थानीय कारणले भोगचलनमा परिवर्तन देखिएको छ । यसलाई सीमा मिचिएको भन्न मिल्दैन, बरु ‘भोगचलन दखल भएको’ भन्नुपर्ने हो ।

उनले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ताको विषयलाई भने छुट्टै र गम्भीर सीमा विवादको रूपमा हेर्नुपर्ने बताएका छन् ।

इपीजी सदस्य तथा नेकपा एमालेका सचिव डा. राजन भट्टराईले प्रधानमन्त्रीको भनाइप्रति आश्चर्य व्यक्त गरेका छन् । उनले आजसम्म भारतले औपचारिक रूपमा नेपालले आफ्नो भू–भाग मिचेको छ भनेर दाबी गरेको जानकारी नभएको बताएका छन् ।

ईपीजीका तर्फबाट भारतीय पक्षसँग लामो छलफल हुँदा समेत भारतले नेपालले आफ्नो भूमि मिचेको दाबी नगरेको उनको भनाइ छ ।

नेकपा नेता भीम रावलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीर भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झूटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन।”

उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि कहाँ, कति र कहिलेदेखि मिचेको हो भन्नेबारे स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन् ।

संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्रीका दुई अभिव्यक्तिलाई असामान्य भनेका छन् — ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने भनाइ बारे उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ । दुई देशबीच तेस्रो देशको उपस्थितिको आह्वान अझै चिन्ताजनक छ।”

उनका अनुसार यस्तो अभिव्यक्तिले नेपालको भू–अखण्डतासम्बन्धी अडानलाई कमजोर बनाउन सक्छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल–भारत सीमा विवादबारे पुरानो बहस पुनः चर्किएको छ । अधिकांश विज्ञहरूले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताजस्ता विषयलाई राज्यस्तरको विवादित मुद्दा मान्दै सीमा क्षेत्रमा देखिने स्थानीय भोगचलन समस्यासँग एउटै रूपमा व्याख्या गर्न नहुने धारणा राखेका छन् ।

पार्टी सभापति रबि लामिछाने आज भारत भ्रमणमा जाँदैछन् । भारत भ्रमणको सम्मुखमा सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीबाट आएको यो धारणाले सीमा सम्बन्धी विवादमा संसय पैदा गरेको प्रति विज्ञहरुले चिन्ता प्रकट गरेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com