प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पुर्व प्रधानमन्त्री झलनाथ खनालको माग
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति चौतर्फी आलोचना भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालने शाहले हिजो प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।
भारतको जग्गा नेपालले मिचेको भनेर दिएको अभिव्यक्ति खतरनाक रहेको बताउँदै सामाजिक सन्जालमा लेखेका छन् ‘यो अत्यन्त गम्भीर, दुखद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो ।’

उनले नेपाली जनता विगतदेखि नै विदेशी अतिक्रमणविरुद्ध सङ्घर्षरत रहेको उल्लेख गर्दै देशमाथि भइरहेको अतिक्रमणलाई कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य रहेको बताएका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिले देशभित्र र बाहिर रहेका ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको समेत आरोप लगाएका छन् ।
![]() |
![]() |
![]() |
|---|
खनालले राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने समेत बताएका छन् ।
उनले प्रधानमन्त्री बालेन्द्र साहले माफी नमागेसम्म विरोध र भर्त्सना गर्न सम्पूर्ण देशभक्त जनता र शक्तिहरुलाई जोडदार आग्रह समेत गरेका छन् र प्रधानमन्त्रीका उक्त राष्ट्रघाती अभिव्यक्तिलाई संसदको रेकर्डबाट तत्काल हटाउन समेत आग्रह गरेका छन् ।



