लुम्बिनीमा एमालेका ४ मन्त्रीले दिए राजीनामा
काठमाडौं– लुम्बिनी प्रदेशमा नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारुमगरले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नै निर्देशन र सल्लाहमा मन्त्रीहरुले राजीनामा दिएको बताए । कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो ।
![]() |
![]() |
![]() |
|---|
यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि मन्त्री हेरफेर रोकिएको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।
एमाले स्रोतका अनुसार मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ । खत्री यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन् ।
Image Source: © https://mulpatra.com
एमालेले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको छ । सोही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरी सिफारिसमा परेका हुन् । प्रदेशसभाका ज्येष्ठ सदस्य भएकाले डिल्लीराज भुसाललाई पनि मन्त्रीका लागि अघि सारिएको छ ।
प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय गरिसकेको छ । उक्त विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ ।
कांग्रेसले सरकारको नेतृत्व परिवर्तनको दबाब दिइरहेको भएपनि मुख्यमन्त्री आचार्यले बजेट ल्याएपछि अर्थात् असार १ गतेपछि मात्रै नेतृत्व छाड्ने अडान लिएका छन् । नेपाली कांग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागेको छैन ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



