हराएका सीमा स्तम्भको खोजी गरी पुनर्निर्माण र संरक्षण गर्न नेपाल–भारत सहमत
काठमाडौं– संघीय संसद्मा सीमाको विषयलाई लिएर प्रतिपक्षीले सरकारको ध्यानाकर्षण गराइरहेका बेला नेपाल–भारत सीमा समन्वय समितिको बैठक कञ्चनपुरमा बसेको छ ।

सोमबार (असार १) बसेको बैठकमा हराएका सीमा स्तम्भको खोजी गरेर पुनर्निर्माण गरी संरक्षण गर्नेसहितका विषयमा दुवै देशका अधिकारी सहमत भएका छन् ।
नेपाल–भारत संयुक्त सीमा सर्वे फिल्ड टोली नम्बर–४’ को उक्त बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओली, बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई र दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी र नापी तथा वन कार्यालयका अधिकारीहरू सहभागी थिए ।
![]() |
![]() |
![]() |
|---|
यस्तै, बैठकमा भारततर्फ सम्बन्धित जिल्लाधीश, भारतीय प्रहरी तथा सीमा सुरक्षा बलका अधिकारी सहभागी थिए ।
बैठकमा नेपाल–भारत सीमा व्यवस्थापनका लागि भइरहेका कामकारबाही, सीमा स्तम्भको अवस्था, मर्मत–सम्भार तथा पुनर्निर्माणलगायत विषयमा छलफल भएको बैठकको सहअध्यक्षता गरेका कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।
पारस्परिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समझदारी भएको जानकारी दिँदै उनले भने, ‘सीमा स्तम्भको मर्मत–सम्भार, हराएका स्तम्भको खोजी गरी पुनर्निर्माण तथा आवश्यक मर्मतलाई अघि बढाइनेछ ।’
Image Source: © https://mulpatra.com
बैठकमा हराएका सीमा स्तम्भको पुनःनिर्माण सम्बन्धी प्राविधिक टोलीको प्रगतिबारे पनि जानकारी गराइएको थियो ।
बैठकमा संयुक्त सीमा सर्वे टोलीका प्रमुख ज्ञानेन्द्र विष्टले ५ जिल्लामा ११ वटा सीमा स्तम्भ पुनर्निर्माण, ५२ वटा स्तम्भ मर्मत तथा ४०२ वटा सीमा स्तम्भको स्थलगत निरीक्षण गरिएको र अधिकांश सीमा स्तम्भ जीर्ण अवस्थामा रहेकाले मर्मत तथा पुनर्निर्माण आवश्यक रहेको जानकारी गराएका थिए ।
भारतीय पक्षबाट बैठकको अध्यक्षता गरेका उत्तराखण्ड राज्यको उधमसिंह नगर जिल्लाका जिल्ला अधिकारी (डीएम) नितिन सिंह भदौरियाले संयुक्त सीमा सर्वे टोलीको कार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



