मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको शानदार सुरुवात
काठमाडौं– लियोनल मेसीले विश्वकप इतिहासमा आफ्नो पहिलो ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई अल्जेरियामाथि ३–० को सहज जित दिलाएका छन् ।

यससँगै विश्वकप उपाधि रक्षा अभियानमा अर्जेन्टिनाले शानदार सुरुआत गरेको छ । कान्सास सिटीमा भर्खरै सम्पन्न खेलमा ३८ वर्षीय मेसीले विश्वकपमा कीर्तिमानी छैटौँ सहभागिता जनाए । खेलको आठौँ मिनेटमा उनले गोल गरे पनि अफसाइडका कारण त्यो प्रयास मान्य भएन ।
तर मेसीलाई गोलका लागि धेरै कुर्नु परेन। केही मिनेटपछि उनले आफ्नो परिचित शैलीमा विपक्षी खेलाडीलाई छल्दै पेनाल्टी क्षेत्रको किनाराबाट प्रहार गरे । शक्तिशाली प्रहारलाई अल्जेरियाका गोलकिपर लुका जिदानले रोक्न सकेनन् र अर्जेन्टिनाले अग्रता लियो ।
![]() |
![]() |
![]() |
|---|
दोस्रो हाफको ६०औँ मिनेटमा अलेक्सिस म्याक एलिस्टरको प्रहार गोलकिपरबाट रिबाउन्ड भएपछि मेसीले सहज ट्याप–इन गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो गोल पूरा गरे।
७६औँ मिनेटमा मेसीले फेरि एकपटक जादुमय क्षण सिर्जना गरे। पेनाल्टी क्षेत्रबाहिरबाट गरेको सटिक प्रहारले जाली चुमेपछि उनले विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे।
यो गोलसँगै मेसी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजेसँग बराबरीमा पुगे। दुवैको नाममा अब १६–१६ विश्वकप गोल रहेको छ।
Image Source: © https://mulpatra.com
ह्याट्रिक पूरा गरेको तीन मिनेटपछि मेसीलाई मैदानबाट बाहिर निकालिँदा दर्शकले उभिएर सम्मान प्रकट गरेका थिए। प्रशिक्षकले उनलाई आराम दिनका लागि परिवर्तन गरेका भए पनि मेसी स्वयं भने मैदान छाड्दा केही निराश देखिएका थिए।
सन् २०१९ को अफ्रिका कप अफ नेसन्स विजेता अल्जेरियाले खेलमा खास प्रभाव छोड्न सकेन। नवौँ मिनेटमा फारेस चाइबीले गरेको गोल पनि अफसाइडका कारण रद्द भएको थियो।
कतार २०२२ विश्वकपमा पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिनाले यसपटक भने कुनै अप्रत्याशित नतिजा भोग्नु परेन । यस समूहको अर्को खेलमा जोर्डन र अस्ट्रियाले केहीबेरमै सान फ्रान्सिस्कोमा प्रतिस्पर्धा गर्नेछन्।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



