चुनौतिका चाङ रहेको सेबोनले पायो अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट
काठमाडौं । लामो समयदेखि नेतृत्वविहीन रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ अध्यक्ष पाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा। गोपाल प्रसाद भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

पूर्व अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ले कार्यकाल पूरा हुनुअघि पदबाट राजीनामा दिएपछि रिक्त रहेको नेतृत्वमा सरकारले भट्टलाई जिम्मेवारी दिएको हो। सरकारी निर्णयअनुसार उनले श्रेष्ठको बाँकी कार्यकाल पूरा गर्दै २०८५ मंसिर ९ गतेसम्म सेबोनको नेतृत्व गर्नेछन्।
डा. भट्ट वित्तीय क्षेत्र, मौद्रिक नीति तथा पूँजीबजारका अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्। उनले करिब तीन दशक नेपाल राष्ट्र बैंक मा कार्यरत रहँदा अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, मानव संशाधन विभाग तथा वित्त कम्पनी सुपरिवेक्षण विभागलगायत महत्वपूर्ण विभागहरूको नेतृत्व गरेका थिए।
![]() |
![]() |
![]() |
|---|
राष्ट्र बैंकमा रहँदा उनले मौद्रिक नीति निर्माण, मुद्रास्फीति अध्ययन, आर्थिक पूर्वानुमान तथा वित्तीय अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। उपभोक्ता मूल्य सूचकांक (सीपीआई) विकास, खुला बजार कारोबार उपकरणको विकास तथा सार्वजनिक ऋण व्यवस्थापन रणनीति निर्माणमा समेत उनको सक्रिय भूमिका रहेको बताइन्छ।
पूँजीबजारसँग उनको सम्बन्ध केवल नीतिगत तहमा मात्र सीमित छैन। उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा स्वतन्त्र सञ्चालकको जिम्मेवारी निर्वाह गर्नुका साथै पूँजीबजारसम्बन्धी अनुसन्धानमा पनि योगदान दिएका छन्। उनको विद्यावारिधिको विषय नै नेपालमा सेयरबजारको दक्षता रहेको छ, जसले पूँजीबजारसम्बन्धी उनको अध्ययन र विशेषज्ञतालाई थप पुष्टि गर्छ।
यद्यपि, डा. भट्टले सेबोनको नेतृत्व सम्हाल्दा नेपाली पूँजीबजार अनेक चुनौतीको सामना गरिरहेको छ। धितोपत्र निष्कासन स्वीकृतिमा देखिएको ढिलाइ, ब्रोकर नेटवर्क विस्तार, वस्तु विनिमय बजार सञ्चालन, संस्थागत सुधार, लगानीकर्ता संरक्षण, बजारमा हुने अनियमित गतिविधि नियन्त्रण तथा नियमन प्रणालीलाई प्रविधिमैत्री बनाउने विषय उनका प्रमुख कार्यसूची बन्ने अपेक्षा गरिएको छ।
Image Source: © https://mulpatra.com
पछिल्ला वर्षहरूमा सेयरबजारमा पारदर्शिता, सुशासन र नियामकीय प्रभावकारिताबारे विभिन्न प्रश्न उठ्दै आएका छन्। यस्ता चुनौतीबीच पूँजीबजारको संरचनात्मक सुधार, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा बजारलाई थप व्यवस्थित र विश्वसनीय बनाउने जिम्मेवारी अब डा। भट्टको काँधमा आएको छ।
सेयरबजारको दक्षतामाथि गहिरो अध्ययन गरेका र केन्द्रीय बैंकको उच्च व्यवस्थापन तहमा लामो अनुभव हासिल गरेका डा। भट्टले आफ्नो ज्ञान र अनुभवलाई व्यवहारमा रूपान्तरण गर्दै नेपालको पूँजीबजारलाई नयाँ दिशा दिन सक्छन् कि सक्दैनन् भन्ने विषयमा अहिले लगानीकर्ता तथा सरोकारवालाको चासो केन्द्रित भएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



