निर्माणाधीन जलविद्युत् आयोजनाको विवरण अद्यावधिक गर्न प्राधिकरणको आग्रह
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति अवस्थाबारे अद्यावधिक जानकारी संकलन गर्न सम्बन्धित प्रवर्द्धक कम्पनीलाई निर्देशन दिएको छ। विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न गरी निर्माण चरणमा रहेका आयोजनाहरूको वास्तविक प्रगति मूल्याङ्कन गर्न आवश्यक भएकाले विवरण माग गरिएको प्राधिकरणले जनाएको छ।

व्यवसाय विकास निर्देशनालयअन्तर्गतको विद्युत् व्यापार विभागले जारी गरेको सूचनामा सबै प्रवर्द्धक कम्पनीलाई सात दिनभित्र आयोजना निर्माणको पछिल्लो अवस्था समेटिएको प्रतिवेदन पेश गर्न भनिएको छ। विभागका अनुसार चौमासिक रूपमा प्रगति विवरण बुझाउने व्यवस्था रहेकाले सो दायित्वको पालना गर्न कम्पनीहरूलाई पुनः स्मरण गराइएको हो।
प्राधिकरणले प्राप्त विवरणका आधारमा आयोजनाको निर्माण गति, देखिएका चुनौती तथा समाधानका उपायबारे समीक्षा गर्ने जनाएको छ। निर्धारित अवधिभित्र प्रतिवेदन नबुझाउने कम्पनीमाथि भने पीपीए सम्झौतामा उल्लेख गरिएका कानुनी तथा प्रशासनिक प्रावधानअनुसार प्रक्रिया अघि बढाइने चेतावनी विभागले दिएको छ।
![]() |
![]() |
![]() |
|---|



