प्रतिनिधि विवादमा रास्वपा महाधिवेशन लम्बियो, अझै लागेन टुंगो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबारदेखि सुरु हुने भनिएको बन्दसत्र महाधिवेशन प्रतिनिधिको विवादका कारण स्थगित भएको छ । प्रतिनिधिको अन्तिम नामावली टुंगो नलाग्दा बिहानदेखि प्रतीक्षामा रहेका हजारौं प्रतिनिधिले दिनभर बन्दसत्र सुरु हुने आशा गरे पनि साँझसम्म कुनै औपचारिक प्रक्रिया अघि बढ्न सकेन । यससँगै भोलिसम्म महाधिवेशन सम्पन्न गर्ने पार्टीको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ ।

विवादको मुख्य केन्द्र मधेश प्रदेशका महाधिवेशन प्रतिनिधिको छनोट बनेको छ । मधेशबाट ५९२ प्रतिनिधिको नाम सार्वजनिक गरिए पनि थप ९६ जनालाई समावेश गर्नुपर्ने माग उठेपछि विवाद चर्किएको हो । प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक भएपछि ठूलो संख्यामा दाबी–विरोध परेपछि निर्वाचन समितिलाई नामावली रुजु गर्न कठिनाइ भएको बताइएको छ । कतिपय प्रतिनिधिको नाम छुटेको, फरक व्यक्तिको नाम समावेश भएको तथा कारबाहीमा परेकाहरूको नाम समेत सूचीमा परेको गुनासो आएको छ ।
रास्वपा नेताहरूका अनुसार मधेशको विवादसँगै अन्य प्रदेशबाट पनि प्रतिनिधि छनोटबारे प्रश्न उठ्न थालेपछि समस्या झन् जटिल बनेको हो । पार्टी समायोजनमार्फत आएका विभिन्न समूह तथा अभियन्तालाई समेट्न थप प्रतिनिधि राख्ने विषयले पनि विवाद लम्बिएको बताइन्छ । यसले प्रतिनिधिको संख्या प्रारम्भिक अनुमानभन्दा बढेर करिब ४ हजार ३ सय पुग्ने अवस्था सिर्जना गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
बन्दसत्र सुरु हुन नसकेपछि महाधिवेशन स्थलमा प्रतिनिधिहरू घाम र गर्मीबीच दिनभर प्रतीक्षामा बसेका थिए । कतिपय प्रतिनिधि हलमै सुतिरहेका देखिए भने केहीले व्यवस्थापनप्रति असन्तुष्टि जनाए । सूचना दिने स्पष्ट संयन्त्र नहुँदा प्रतिनिधिहरू थप हैरान भएको गुनासो गरेका छन् । व्यवस्थापन कमजोर भएको आरोपबीच पार्टी प्रवक्ता मनीष झाले समयमै बन्दसत्र सुरु गर्न नसकेको स्वीकार गर्दै प्रतिनिधिसँग क्षमायाचना गरेका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिको अन्तिम टुंगो लगाउने र परिचयपत्र वितरण गर्ने कार्य अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र स्थगित गर्नुपरेको हो । आयोगले सोमबार साँझदेखि परिचयपत्र वितरण सुरु गरेको र मंगलबार बिहानसम्म सबै प्रतिनिधिको प्रक्रिया पूरा गरेर बन्दसत्र सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ । प्रतिनिधिको टुंगो नलगाई बन्दसत्र सञ्चालन गर्दा थप विवाद र कानुनी जटिलता निम्तिन सक्ने भएकाले सावधानी अपनाइएको नेताहरूको भनाइ छ ।
महाधिवेशन लम्बिएसँगै देशभर तथा विदेशबाट आएका प्रतिनिधिको बसाइ अवधि बढ्ने भएको छ । यसले उनीहरूको खर्चसमेत थपिने चिन्ता बढेको छ । यद्यपि पार्टीले आवश्यक परे टाढाबाट आएका प्रतिनिधिका लागि वैकल्पिक व्यवस्थापन र खर्च व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएको छ । प्रतिनिधि विवाद समाधान भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने र सभापति रवि लामिछाने तथा वरिष्ठ नेता वालेन्द्र शाह सर्वसम्मत चयन हुने सम्भावना बलियो रहेको नेताहरूले बताएका छन् ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



