छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन गरेका छन् ।

सहकारी विभागले, बचत फिर्ता गरिदिनेबारेको निवेदकहरुको संख्या बढ्दै जान थालेको जानकारी दिएको छ । वैशाख १७ देखि हालसम्म रकम फिर्ता गरिदिन माग गरेका छन् ।
विभाग प्रमुख ध्रुवकुमार काफ्लेले दैनिक करिब ३० जनाले उजुरी गर्ने गरेका र धेरै निवेदक साना बचतकर्ता रहेको जानकारी दिए । साना बचतकर्ताले एक लाखदेखि पाँच लाखसम्म रकम जम्मा गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
पछिल्लो समय कामपाले आएका उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।
केही दिनअघि मात्रै कामपाले बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको रकम फिर्ता गरिसकेको जनाएको छ । सो सहकारीले एक लाख ५० हजारसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गरेको हो । विभागका अनुसार आगामी एक महिनाभित्र पाँच लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको छ ।
साथै ठूला बचतकर्ताका हकमा ऋण असुली प्रक्रिया अघि बढाउँदै बचत फिर्ता गर्न समन्वय भइरहेको पनि प्रमुख काफ्लेले जानकारी दिए ।
Image Source: © https://mulpatra.com
सहकारी विभागले उजुरी दर्ता, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने कार्य गर्दै आएको छ । सहमति हुन नसकेमा आवश्यक कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ । हाल कामपामा एक हजार ९१२ सहकारी रहेको छ ।
जम्मा सहकारी संख्यामा ५० प्रतिशतले मात्रै नियमित रुपमा वार्षिक साधारणसभा गरेको प्रतिवेदन पेस गर्ने गरेका छन् । यसरी दर्ता भएका तर नियमित रुपमा साधारणसभा नगर्ने सहकारीलाई कामपाले कानुनी रुपमा कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



