चार पटकको विश्व विजेता जर्मनी पाराग्वेसँग हार्दै अन्तिम १६ पुग्न असफल
काठमाडौं । चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ बाटै बाहिरिएको छ। अमेरिकाको बोस्टनमा मंगलबार बिहान सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा दक्षिण अमेरिकी टोली पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लागेको थियो।
खेलको ४२औं मिनेटमा जुलियो इनसिसोले हेडमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५४औं मिनेटमा फ्लोरियन विर्ट्जको पासमा काइ हाभर्ट्जले हेडमार्फत गोल फर्काउँदै जर्मनीलाई बराबरीमा ल्याए।
![]() |
![]() |
![]() |
|---|
अतिरिक्त समयमा जोनाथन टाहले गरेको गोल फाउलका कारण अस्वीकृत भएपछि खेल पेनाल्टीमा पुगेको थियो।पेनाल्टी सुटआउटमा पाराग्वेका माउरिसियो, गुस्ताभो गोमेज, माथियास गालार्जा र जोसे क्यानाले सफल भए भने जर्मनीका कप्तान जोसुआ किम्मिच, जमाल मुसियाला र नादिएम अमिरीले मात्र गोल गर्न सके।
काइ हाभर्ट्ज र निक भोल्टेमाडेको प्रहार गोलकिपर ओर्लान्डो गिलले बचाउँदा तथा जोनाथन टाहको निर्णायक प्रहार पोस्टमाथिबाट बाहिरिएपछि जोसे क्यानालेले विजयी पेनाल्टी गोल गर्दै पाराग्वेलाई अन्तिम १६ मा पुर्याए। अब पाराग्वेले फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



