Close

Recent Posts

विश्वकपबाट बाहिरिनु निराशाजनक भएपनि उत्कृष्ट प्रदर्शन भएको दाबी गदै रोनाल्डोले सन्यासको तत्काल निर्णय नगर्ने

विश्वकपबाट बाहिरिनु निराशाजनक भएपनि उत्कृष्ट प्रदर्शन भएको दाबी गदै रोनाल्डोले सन्यासको तत्काल निर्णय नगर्ने
  • २३ असार २०८३, मंगलवार ०९:३५

काठमाडौं– पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्तिम–१६ बाटै टुंगिएको छ । स्पेनसँग १–० ले पराजित भएपछि ४१ वर्षीय रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको पुष्टि गरे पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने वा नलिनेबारे भने तत्काल निर्णय नगर्ने बताएका छन् ।

mulpatra

डलासमा सोमबार भएको खेलमा इन्जुरी समयको अन्तिम क्षणमा मिकेल मेरिनोले गरेको गोलले स्पेनलाई क्वाटरफाइनलमा पु¥याएको थियो । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले स्पेनले ‘थोरै भाग्य’को साथ गोल गरेको टिप्पणी गरे । ‘यसरी विश्वकपबाट बाहिरिनुपर्दा दुःख लागेको छ । मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेँ । मैले सबै दिएँ र अहिले पनि मेरो अन्तर्मन शान्त छ,’ उनले भने ।

‘यो मेरो अन्तिम विश्वकप थियो । अब म केही समय परिवारसँग बिताउनेछु र भविष्यबारे शान्त भएर सोच्नेछु । म कुनै पनि हतारको निर्णय गर्नेछैन ।’ रोनाल्डोले यो आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल थियो वा थिएन भन्ने प्रश्नको स्पष्ट उत्तर भने दिएनन् । टोलीको अभियानभन्दा आफ्नो व्यक्तिगत निर्णय ठूलो विषय बन्न नचाहेको उनको भनाइ थियो ।

mulpatra

‘म भावनामा बगेर निर्णय गर्ने व्यक्ति होइन,’ उनले भने । रोनाल्डोले पोर्चुगलका लागि आफूले दिएको योगदानप्रति गर्व व्यक्त गरे । उनले आफ्नो कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोपियन च्याम्पियनसिप तथा २०१९ र २०२५ को नेसन्स लिग जितेको स्मरण गरे ।

‘मैले पोर्चुगलका लागि तीन वटा उपाधि जितेको छु । क्रिस्टियानो रोनाल्डोअघि पोर्चुगलले कुनै पनि ठूलो उपाधि जितेको थिएन,’ उनले भने । उनले सन् २०१६ मा जितेको युरोपियन च्याम्पियनसिप आफ्नो लागि विश्वकप उपाधिसरह महत्वपूर्ण रहेको पनि बताए ।

Image Source: © https://mulpatra.com

विश्वकपबाट बाहिरिएसँगै मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि पद छाड्ने घोषणा गरेका छन् । रोनाल्डोले मार्टिनेजको खुलेर प्रशंसा गर्दै उनी उत्कृष्ट प्रशिक्षक र असल व्यक्तित्व भएको बताए । ‘उहाँसँग काम गर्न पाउँदा मलाई निकै राम्रो लाग्यो । उहाँ उत्कृष्ट प्रशिक्षक मात्र होइन, असाध्यै राम्रो व्यक्ति पनि हुनुहुन्छ । पोर्चुगलका लागि उहाँले गरेको योगदान प्रशंसायोग्य छ। उहाँको आगामी जीवन सुखद रहोस् भन्ने शुभकामना दिन चाहन्छु,’ उनले भने ।

रोनाल्डोले अन्त्यमा विश्वकपबाट बाहिरिनु निराशाजनक भए पनि टोलीले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरे । ‘यस्तो ढंगले बाहिरिनुपर्दा पीडा हुन्छ । तर हामीले राम्रो खेल्यौं। खेल जुनसुकै टोलीको पक्षमा जान सक्थ्यो, तर फुटबल यस्तै हो । अब हामी फेरि उठ्नुपर्छ र अगाडि बढ्नुपर्छ । हामी गर्वका साथ मैदान छाड्न सक्छौँ,’ उनले भने ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com