Close

Recent Posts

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
  • २३ असार २०८३, मंगलवार १०:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३÷८४ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको छ भने उक्त बैठकबाट मस्यौदा पारित भएपछि सञ्चालक समितिको बैठक बोलाइनेछ।

mulpatra

सञ्चालक समितिबाट स्वीकृति प्राप्त भएलगत्तै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले आजै नीति सार्वजनिक गर्ने प्रयास भइरहेको छ।

यसपटक मौद्रिक नीतिको संरचनामा उल्लेखनीय परिवर्तन गरिएको छ। विगतमा एउटै दस्तावेजमा समेटिने चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्थाको विश्लेषण, मौद्रिक नीति र नियामकीय व्यवस्थालाई अलग–अलग रूपमा प्रस्तुत गर्ने तयारी गरिएको हो।

mulpatra mulpatra mulpatra

राष्ट्र बैंकका अनुसार गभर्नर पौडेलले मौद्रिक नीतिसम्बन्धी मुख्य अंश मात्रै अनलाइनमार्फत प्रस्तुत गर्नेछन् भने त्यसपछि अनुसन्धान विभागका कार्यकारी निर्देशक, प्रवक्ता तथा सम्बन्धित विभागका अधिकारीहरूले पत्रकार सम्मेलनमार्फत थप जानकारी दिनेछन्।

आगामी मौद्रिक नीति सरकारले चालु आर्थिक वर्षका लागि लिएको ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी लचिलो बनाइने अपेक्षा गरिएको छ। बैंकिङ प्रणालीमा रहेको ठूलो परिमाणको लगानीयोग्य रकमलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न कर्जा विस्तारमा सहजीकरण गर्ने व्यवस्था नीतिमा समेटिने तयारी छ। साथै अनिवार्य नगद मौज्दात (सीआरआर), ब्याजदर करिडोर, बैंकदर, नीतिगत दर तथा कर्जा–निक्षेप अनुपातजस्ता मौद्रिक उपकरणबारे पनि अन्तिम निर्णय हुने जनाइएको छ।

राष्ट्र बैंकले यसपटक नियामकीय व्यवस्थालाई मौद्रिक नीतिभन्दा बाहिर राखेर आवश्यकताअनुसार वर्षभर परिपत्रमार्फत लागू गर्ने तयारी गरेको छ। यसले मौद्रिक नीतिलाई थप संक्षिप्त, वस्तुगत र नीतिगत विषयमा केन्द्रित बनाउने विश्वास राष्ट्र बैंकका अधिकारीहरूको छ। आर्थिक अनुसन्धान विभागले तयार पारेको मस्यौदामा अन्तिम छलफल जारी रहेकाले सञ्चालक समितिको स्वीकृतिपछि आजै मौद्रिक नीति सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com