नेपाली भाषालाई जनजनसम्म पुर्याउने भानुभक्तको आज २१३औँ भानु जयन्ती
काठमाडौं । नेपाली भाषा, साहित्य र राष्ट्रिय सांस्कृतिक चेतनाका अग्रदूत आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदायले विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइरहेका छन्।

भानु जयन्तीका अवसरमा देशभर साहित्यिक गोष्ठी, प्रभातफेरी, कविता वाचन, रामायण पाठ, वृक्षारोपण, सम्मान कार्यक्रम तथा भानुभक्तको प्रतिमामा माल्यार्पण गरि मनाउने गरिएको छ । राजधानी काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् तथा विभिन्न साहित्यिक र सामाजिक संस्थाले विशेष समारोह आयोजना गरेका छन्।
नेपाली भाषालाई जनजनसम्म पुर्याउने महान् योगदानका कारण भानुभक्त आचार्यलाई ‘आदिकवि’का रूपमा सम्मान गरिन्छ। उनले संस्कृत भाषामा रचित वाल्मीकि रामायणलाई सरल, मिठासपूर्ण र जनबोलीमा नेपाली भावानुवाद गरी आम नेपालीका लागि सहज रूपमा उपलब्ध गराएका थिए। त्यसयता उनको रामायण नेपाली समाजको धार्मिक, सांस्कृतिक र साहित्यिक जीवनको अभिन्न हिस्सा बनेको छ। आज पनि गाउँदेखि सहरसम्म धेरै घरमा भानुभक्तद्वारा अनूदित रामायण सस्वर पाठ गर्ने परम्परा जीवित छ।
![]() |
![]() |
![]() |
|---|
इतिहासकार र साहित्यकारहरूका अनुसार नेपाललाई राजनीतिक रूपमा एकताबद्ध गर्ने कार्य पृथ्वीनारायण शाहले गरे भने भाषिक, साहित्यिक र सांस्कृतिक रूपमा नेपाली समाजलाई एउटै सूत्रमा बाँध्ने महत्वपूर्ण भूमिका भानुभक्त आचार्यले निर्वाह गरेका हुन्। उनले नेपाली भाषालाई साहित्यिक उचाइ प्रदान गर्दै राष्ट्रिय पहिचान निर्माणमा उल्लेखनीय योगदान दिएका थिए।
भानुभक्त आचार्यको जन्म विक्रम संवत् १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीराम्घामा भएको थियो। उनको जीवनसँग जोडिएको ‘घाँसी’को प्रसंग नेपाली साहित्यको अत्यन्त चर्चित प्रेरणादायी घटनाका रूपमा चिनिन्छ। एउटा साधारण घाँसीले समाजका लागि सम्झनलायक काम गरेर नाम कमाउनुपर्ने सन्देश दिएपछि भानुभक्त जनसेवामूलक साहित्य सिर्जनातर्फ प्रेरित भएको विश्वास गरिन्छ। यही प्रेरणाले उनले नेपाली भाषामा रामायण लेख्ने महान् कार्य प्रारम्भ गरेका थिए।
रामायणबाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ तथा अन्य फुटकर रचनाहरू पनि नेपाली साहित्यका महत्वपूर्ण सम्पत्ति मानिन्छन्। उनका कृतिहरूले नैतिक शिक्षा, धार्मिक चेतना, सामाजिक मूल्य र भाषिक विकासलाई समान रूपमा समेटेका छन्।
Image Source: © https://mulpatra.com
भानु जयन्ती नेपालमा मात्र सीमित छैन। भारतका दार्जिलिङ, सिक्किम, देहरादून तथा असमका नेपाली भाषी क्षेत्र, भुटान, म्यानमार लगायतका देशमा बसोबास गर्ने नेपाली समुदायले समेत भानुभक्तको जन्मजयन्ती धुमधामसाथ मनाउने गरेका छन् ।
२१३औँ भानु जयन्तीले नेपाली भाषा र साहित्यप्रति सम्मान अभिवृद्धि गर्नुका साथै भाषा, संस्कृति र राष्ट्रिय एकताको सन्देशलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



