कोरियामा न्यूनतम ज्याला ३.७ प्रतिशत वृद्धि
काठमाडौं– दक्षिण कोरियाले आगामी वर्ष सन् २०२७ का लागि न्यूनतम ज्याला तोकेको छ । दक्षिण कोरियाको न्यूनतम ज्याला आयोगले सन् २०२७ का लागि प्रतिघण्टा न्यूनतम तलब १० हजार ७ सय वोन निर्धारण गरेको छ ।

हाल कोरियामा प्रतिघण्टा १० हजार ३२० वोन न्यूनतम तलब छ । यो ३.७ प्रतिशत वृद्धि हो । नयाँ न्यूनतम तलब २०२७ जनवरी १ देखि लागू हुनेछ ।
छलफलका क्रममा श्रमिक पक्षले प्रतिघण्टा १२ हजार वोन माग गरेको थियो भने रोजगारदाता पक्षले हालकै १० हजार ३२० वोन कायम राख्न अडान लिएको थियो । पटक–पटकको छलफलपछि ट्रेड युनियन प्रतिनिधि १० हजार ७३० वोन र रोजगारदाता पक्ष १० हजार ७ वोनमा अडिग रहेपछि मतदानमार्फत १० हजार ७ सय वोनको प्रस्ताव पारित गरिएको हो ।

हाल एक रुपैयाँ बराबर ९.७ कोरियन वोन सटही दर रहेको छ । तलब वृद्धि भएपछि नेपाली कामदारको न्यूनतम मासिक तलब २ लाख ३० हजार ५४६ रुपैयाँ हुनेछ । हाल मासिक न्यूनतम तलब करिब २ लाख १९ हजार रुपैयाँ बराबर रहेको छ ।
दक्षिण कोरियामा श्रमिकले हप्तामा पाँच दिन र दैनिक आठ घण्टाका दरले महिनामा २०९ घण्टा काम गर्छन् । त्यसवापत उनीहरूले मासिक न्यूनतम २२ लाख ३६ हजार ३०० वोन प्राप्त गर्नेछन् । यो चालु वर्ष २०२६ को तुलनामा ७९ हजार ४२० वोन बढी हो । नयाँ तलब सन् २०२७ को जनवरीदेखि लागू हुनेछ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
