जेन–जी विद्रोहबाट प्रभावित निजीक्षेत्रलाई राहत, सवारी खरिदमा अब ८० प्रतिशतसम्म कर्जा पाउने
काठमाडौं– नेपाल राष्ट्र बैंकले जेन–जी विद्रोहका क्रममा प्रभावित बन्न पुगेका निजीक्षेत्रका उद्योग, व्यवसायलाई राहत दिएको छ । मौद्रिक नीतिमार्फत यस्ता प्रभावित व्यावसायिक क्षेत्रलाई सम्बोधन गर्दै केन्द्रीय बैंकले सवारी खरिदमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने नीति ल्याएको हो ।

आगामी आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले व्यावसायिक ठूला विद्युतीय बसहरूको खरिदमा सवारीको लोन टु भ्यालु रेसियो थप वृद्धि गर्ने उल्लेख गरेको थियो ।
मौद्रिक नीतिपछि बैंक तथा वित्तीय संस्थाहरूका नाममा सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले यस्तो अटो कर्जाको लोन टु भ्यालु रेसियो ८० प्रतिशतसम्म दिने र यस्तो सुविधा जेन–जी विद्रोहका क्रममा तोडफोड, आगजनीमा परेका व्यावसायिक क्षेत्र, प्रतिष्ठानहरूले व्यावसायिक रुपमा प्रयोग गर्ने सवारीसाधन, ढुवानीका साधनहरूमा समेत उपलब्ध गराउने जनाएको हो ।

यसो हुँदा अब यी संस्था तथा कम्पनीहरूले सवारी खरिद गर्दा जम्मा २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर ८० प्रतिशत फाइनान्सिङ सुविधा पाउनेछन् । यसअघिको मौद्रिक नीतिले सबैखाले सवारीको खरिदमा बैंक तथा वित्तीय संस्थाहरूले गाडीको मूल्यका आधारमा अधिकतम ६० प्रतिशतसम्म मात्र कर्जा लगानी गर्न पाउने व्यवस्था थियो ।
