बामपन्थी एकतामा पूर्वप्रधानमन्त्री खनालको जोड
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिमा दक्षिणपन्थी शक्तिसँगको साँठगाँठभन्दा वामपन्थी शक्तिहरूबीच वैचारिक आधारमा एकता आवश्यक रहेको बताएका छन्।

आइतबार जारी वक्तव्यमा उनले मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, नागरिक अधिकार तथा छिमेकी मुलुकसँगको सम्बन्ध चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै विदेशी हस्तक्षेप र आन्तरिक अव्यवस्थाविरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी तथा प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।
खनालले प्रदेश सरकार गठनसँग सम्बन्धित नयाँ राजनीतिक समीकरणबारे निर्णय गर्नुअघि नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाएर विस्तृत छलफल गर्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार कुनै पनि नीति वा सहकार्य क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणका आधारमा मात्रै तय हुनुपर्छ।

उनले पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादतर्फ धकेल्ने प्रवृत्तिबाट जोगाउन तथा केही नेताहरूको कुर्सीमोह र स्वार्थका लागि हुने राजनीतिक साँठगाँठ रोक्न पनि आग्रह गरेका छन्।
वरिष्ठ नेता खनालले विगतमा वामपन्थी शक्तिहरूले नीतिहीन र गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिसँग सहकार्य गर्दै आएको भन्दै त्यसबाट कम्युनिस्ट आन्दोलनको प्रतिष्ठामा क्षति पुगेको उल्लेख गरेका छन्।
Image Source: © https://mulpatra.com
उनले अहिले पनि त्यही गल्ती दोहोरिन सक्ने खतरा रहेको चेतावनी दिँदै सबै वामपन्थी शक्तिहरूले आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर पार्टी पुनर्गठन, रूपान्तरण र वैचारिक एकताको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
