कृषि क्षेत्रमा सक्रिय ज्येष्ठ नागरिक ७२ प्रतिशत
काठमाडौं– ७२ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ प्रकाशन गरेको छ ।

जसले ज्येष्ठ नागरिकको संख्या र उनीहरूको स्थितिजन्य विवरण समावेश छ । प्रस्तुत विवरण अनुसार हाल नेपालमा ३३ लाख ५५ हजार ८०८ जना रहेका छन् ।
यसमध्ये ६८.८ प्रतिशत ज्येष्ठ नागरिक स्वव्यवसायमा वा कामदार छन् । १३.४ प्रतिशत ज्येष्ठ नागरिक रोजगार छन् भने ०.८ प्रतिशत रोजगारदाताको रुपमा रहेका छन् । १७ प्रतिशत ज्येष्ठ नागरिक परिवारको सहयोगीको रुपमा छन् ।

स्व–व्यवसाय वा कामदारको रूपमा रहेका ज्येष्ठ नागरिकहरूमध्ये आर्थिक रुपले सक्रिय भएको कार्यक्षेत्रमा कृषि क्षेत्र अधिक छ । प्रस्तुत विवरणअनुसार ७२.६ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय छन् । २७ प्रतिशत ज्येष्ठ नागरिक गैर कृषि क्षेत्रमा छन् ।
