‘झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्रा’मा पनि छुटाइए भीम रावल

धनगढी । नेकपा एमालेले निकै तामझामका साथ झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी संकल्प यात्रा सुरु गरेको छ ।
अभियानमा एमालेको सिङ्गो पार्टीपंक्ति जुटेको छ । तर एमालेका पूर्व उपाध्यक्ष भीम रावल भने अभियानभन्दा बाहिरै देखिएका छन् । रावललाई ‘इग्नोर’ गरेरै अभियान सञ्चालन गरिएको उनी निकट स्रोत बताउँछ ।
एमालेले गत फागुनमा ग्रास रुट अभियान सञ्चालन गरेको थियो । सो अभियानमा पनि एमालेभित्र ओली र रावलबिच कडा मतभेद देखियो । हालै सम्पन्न एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन पनि रावललाई बाहिरै राखेर गरिएको भन्दै एमालेभित्र असन्तुष्टि चुलिएको थियो ।
संकल्प यात्राको क्रममा शनिबार अछामको साँफेबगर र मंगलसेन पुगेर कार्यक्रम गर्ने एमालेको कार्यतालिका छ । साथै मंगलसेनमा सभा आयोजना गर्ने योजना छ । यद्यपि रावलको गृह जिल्लामा गरिने कार्यक्रममा उनलाई नै उपेक्षा गरिएको भन्दै नेतृत्वप्रति अछाममा नेता कार्यकर्ताको तीव्र असन्तुष्टि देखिएको छ ।
रावल निकट एक नेताले भने, ‘पार्टीको कुनै जिल्ला, प्रदेशको कार्यक्रम भएको भए केही थिएन । तर पार्टीको केन्द्रीय कार्यक्रममा पार्टीका सशक्त नेतालाई बाहिर राखेर कार्यक्रम गर्नु भनेको सरासर उहाँलाई इग्नोर गरिएको हो । यसले पार्टीलाई कतिको असर गरेको भन्ने त गत आमनिर्वाचनको परिणामले देखाइसकेको छ । तर अझै पनि नेता रावललाई पार्टीले खेद्ने काम गर्दै आएको छ ।’
आफ्नै प्रदेशको कार्यक्रममा पनि भीम रावल सहभागी हुन नपाउने अवस्था बारम्बार दोहोरिन थालेको बताउँदै अब के गर्ने भन्नेबारे आन्तरिक छलफल गरिरहेको र विरोधका क्रियाकलाप पनि हुन सक्ने उनी निकट नेता–कार्यकर्ता बताउँछन् ।