मन्त्रीको गाडीमा आगजनी, प्रहरीको गोली लागी एकजनाको मृत्यु

१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।
उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका थिए ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् ।