कुलमानको दाबी , ‘टीओडी डेटा नभएको ठाउँमा त्यो भन्दा बलियो प्रमाण छ’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टाइम अफ डेट (टीओडी) मिटरको रेकर्ड छैन भनेर अदालतलाई जवाफ पठाउँदा प्राधिकरणका क्षेत्रीय कार्यालयहरुले सल्लाह नगरेको पाइएको बताएका छन् । आज पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले उद्योगहरुले विद्युत खपत गरेको तथ्यांक सुरक्षित रहेको बताएपछि अदालतलाई टीओडी डाटा छैन भनेर किन भनेको भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन् ।

‘अदालतलाई गएको जवाफका सन्दर्भमा हामीले कुरा गर्यौ, यहाँ छलफल नै नभई गएको रहेछ, क्षेत्रीय कार्यालयहरुलाई सोधिएकाले उनीहरुले प्राधिकरणको केन्द्रीय कार्यालयमा सोध्नुपर्दैन भन्ने ठानेर छैन भन्ने जवाफ पठाइदिएछन्’ कुलमानले भने, ‘तर, टीओडी रेकर्डको डाटा नभए पनि हामीसँग लग सिट नै छ नि, यो लग सिट जहाँ देखाउनुपर्ने हो हामी देखाउन तयार छौँ । सँगै, कहीँ कतैबाट सोधनी भयो भन्दैमा प्रधिकरणको कानुन डिपार्टसँग सल्लाह नगरी जथाभावी जवाफ नदिँन मैले निर्देशन पनि दिइसकेको छु ।’
