विकास परियोजनामा सोझै रकम लिनु राष्ट्रहित विपरितः झलनाथ खनाल

सरकारी गठबन्धन दल मध्येका एकिकृत समाजवादीका नेता नेता झलनाथ खनालले नेपालको विकास परियोजनामा भारतीय दूतावासले सिधै रकम दिनु गलत भएको बताएका छन् ।
भारतीय दूतावासले यस भन्दा अघि विकास परियोजनामा ५ करोड रुपैयाँसम्म सोझै दिन सक्ने व्यवस्था संसोधन गर्दै बुधबार भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला भारतीय दूतावासले नेपाली परियोजनामा सिधै २० करोड रुपैयाँसम्म रकम दिन सक्ने गरि सरकारसँग समझदारी भएको थियो ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरी कुनै पनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हितविपरीत भएको बताए । उनले छिमेकी देशले दिने अनुदान आफूहरू सह्रस स्वीकार्न तयार रहेको तर कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशका लागि नराम्रो भएको उल्लेख गरे ।
नेपाल सरकारले आफैं योजना बनाएर कार्यान्वयन गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै खनालले भने, ‘यो अधिकार यो गठबन्धन सरकारले सुरक्षित राख्न सकेन । त्यसकारणले यो राष्ट्र हित विपरीतको कुरा हो ।’