‘तपस्वी’ बम्जन पक्राउ, सर्लाही अदालतले दियो थुनामा राख्ने आदेश

काठमाडौँ । चार वर्ष देखि प्रहरीको खोजी सूचिमा रहेका तपस्वी रामबहादुर बम्जन अन्ततः प्रहरीको फन्दामा परिछाडे । लामो खोजीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘तपस्वी’ रामबहादुर बम्जनलाई मंगलबार पक्राउ गर्न सफल भयो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७६ माघ २४ मा बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो ।
रौतहटकी १८ वर्षीया गंगामाया तामाङले आफुलाई बम्जनले बलात्कार गरेको पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि बम्जनको आश्रमको विषय बाहिर आएको थियो भने त्यसपछि बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो ।
१५ दिनअघि काठमाडौँ आएका बम्जन पाँच दिनअघि परिवार भेट्न भनेर हात्तीगौँडा गएका थिए। त्यहि मौका छोपेर प्रहरीले बम्जनलाई पक्राउ गर्न सफल भएको छ ।
बमजन विरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। सोही आधारमा बमजनलाई सर्लाही जिल्ला अदालतमा पेश गरिएको र बमजनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।