Close

Recent Posts

मदिरा व्यवसाय र व्यवस्थापनका कुराहरु

मदिरा व्यवसाय र व्यवस्थापनका कुराहरु
  • १३ माघ २०८०, शनिबार १०:४५
१.मदिरा के हो ?
मदिरा नशाजन्य तरल पदार्थ हो । विभिन्न खाले अन्न तथा फलफूल कुहाएर त्समा स्थानीय मर्चा वा इथानोल मिसाएर मदिरा बनाइने हुँदा त्यसबाट नशा लाग्ने र मात्रा बढ्दै जाँदा विषाक्त पनि हुन्छ । वर्तमानमा गाँउ र शहरबजारका क्षेत्रमा पनि रक्सीलाई चाँडै नशा लाग्ने बनाउन युरीया, पोटास र अन्य गन्धयुक्त सामानको प्रयोग गरी कुहुवाई उत्पादन भएको मदिराले विभिन्न समयमा मान्छेको मृत्यु हुने गरेको कुरा विभिन्न देशी, विदेशी समाचारमा आइरहेको कुरो होे ।
२. मदिरा प्रयोगको अवस्था ?
हिजोको समयमा अदिवासी, जनजातिहरुले घरमा बनाएर खाने चलन हो । मर्दा, पर्दा र विहेवारीमा पनि आफन्तसँगै बसी खाने, खुवाउने चलन यद्यपि छ । तमाखु, चुरोट, खैनीजस्ता सुर्तिजन्य पदार्थहरू मनको धित मार्न, व्यवहारबाट अलमलिन, एकछिनलाई आराम दिलाउन तथा नशाको सुरमा काम गर्न, घरका पुरुषका साथै ग्रामिणभेगका महिलाले पनि प्रयोग गर्दै आएको अवस्था हो । त्यस्तै गाँजा, चरेस, अफिम लगायत अन्य नशा लाग्ने पदार्थ, आदिको अम्मलले निद्रा लगाउने, तनाव विर्सिने, भोक लाग्ने र प्रयोग गर्दै जाँदा वानी परी लत छुताउन नसकिने शिथीलताको अवस्था हो ।
माथीका पदार्थ वनस्पतिजन्य भएको तर मदिरा भने अन्न तथा फलफूल कुहुवाएर त्यसमा विभिन्न रसायन मिसाएको पदार्थको उपभोगले नशामा तरगं ल्याई बरबराउने, होहल्ला गर्ने, हुलहुज्जत गर्ने, रिस इवी साध्ने, संक्षेपमा द्वन्द्व बढाउनेतर्फ अग्रसर भई हिंसा गर्ने तर्फ प्रवृत रहने देखिन्छ ।
हिजोको घरायसी उपभोगको चलन आज आएर यत्रतत्र सवत्र हुन थालेको छ । घरमा सिमीत यसको उपभोग व्यवसायिकरण हुदै गएको छ । अघि आदिवासी, जनजातिको यो खुराक आजभोली नाकचुच्चेहरू र खानहुने, नहुने धेरैजसोले धोक्न थालेपछि आक्रामकरूपमा बजार बढेर गएको छ । हिमाल, पहाड चिसो मौसमको हिसाबले यसको प्रयोग केही हदसम्म मान्य होला तर तराईको प्रचण्ड गर्मीमा समेत बजार विस्तार हुनु निको हैन ।

नेपालमा जन्मदेखि मृत्युसंस्कारसम्मका काममा मदिराको प्रयोग गर्नुपर्ने अवस्थाका जाति जनजातिहरू छन् । नेवार समुदायमा वेल विवाह, वर्तबन्ध, विवाह, दशैंतिहार आदिमा पनि सगुनका रूपमा मदिराको प्रयोग अनिवार्य हुन्छ । श्राद्ध गर्दा वा गणेश कुमारको पूजा गर्दा मदिरा सगुनको रूपमा चढाउनु पर्ने चलन छ ।
गाँउ घर मात्र नभई शहरका विभिन्न समुदायका विवाह र भोजभतेरमा मदिरा रहनु इज्जत प्रतिष्ठाको विषय बनेको छ । त्यस्ता समारोहमा मदिरा व्यवस्था नभएको खण्डमा नाक खुम्च्याउने, आनन्द नमान्नेहरू पनि छन् । विहे भोजमा मात्र नभई पास्नी न्वारन, गुन्युचोली लगायत आदि कर्ममा पनि मदिरापानको शौख बढ्दै गएको देख्न सकिन्छ । हिजोको समयमा छोरीको विवाहमा मासु, मदिरा त्याज्य हुने गरेकोमा आज आएर त्यो कुरो बिर्सिए झैँ भएको छ । त्यसको सानो उदाहरण भारतमा १०० जनामा एक जनाले रक्सी खान्छ भने नेपालमा हरेक दश जनामा एक जनाले रक्सी पिउछन् । अर्थात् कुल जनसंख्यामध्ये तीसलाख भन्दा बढीले रक्सीपान गर्ने गरेको आँकलन गर्न सकिन्छ ।
३.मदिरा उत्पादनमा आवश्यक तत्व
हिमाल र पहाड क्षेत्र देशको कुल भुभागको ८० प्रतिशत भएकोले चिसो ठाउँमा जिउ तताउन र काम गर्नका लागि प्रयोग गरिने चलन छ । पुरातनमा मदिरा सोमरसको नामले प्रख्यात थियो । वर्तमानमा मदिराको अधुनिक प्रविधिबाट उत्पादन गर्ने चलन भने प्रजातन्त्रपछि आएको मानिन्छ ।
मदिरामा रक्सी र पानीको मात्रा निर्धारण हुन जरुरी मानिन्छ । २५ यूपीको मदिरामा ४२ प्रतिशत रक्सी(अल्कोहल) हुन्छ । ४० यूपीको मदिरामा ३४ प्रतिशत अल्कोहल हुन्छ । मदिरामा मिसाइने स्पीरीटको मात्राको घटबढले रक्सी विसाक्त भएर जाने हुन्छ ।
रङ्को आधारमा मदिरालाई डार्क र ह्वाईट स्पीरिटमा वर्गिकरण गरिन्छ । ह्विस्की, ब्रान्डी, वाईन सामान्यत डार्क स्पीरिटका मदिरा हुन् । पानी जस्तो देखिने भोड्का, जीन ह्वाईट स्पीरिट हो । ह्विस्की चिनीमीलबाट उखु क्रसिङ गर्दा निस्कने खुदोलाई छानेर उत्पादन गरिन्छ । रम उखुको रसबाट बन्छ । अंगुरको जुसबाट ब्राण्डी र वाईन बनाईन्छ । जीन गहुँको दानामा जुनिपर वेरी मिश्रण गरेर बन्दछ । खास भोड्का भने आलुबाट बन्दछ । भारत लगायत हाम्रो देशमा भने खुदोबाट ह्विस्की, रम, भोड्का बन्ने गरेको पाइन्छ ।
४.मदिरा कसरी, कति खाने ?
थारुहरूमा एउटा उखान निकै प्रचलित छ दबादारु । दारु(रक्सी)लाई दबाइको रूपमा प्रयोग गरेमा स्वास्थमा त्यति हानी गर्दैन भन्ने हो । हिजोको चलनमा श्रमसमयको हिसाबले अनुसाशीत रूपमा पान गर्दा दबाईको काम गर्दथ्यो होला । तर अहिले नव शिकारुहरूबाट बढ्दो अनुशासनहिन प्रयोगले व्यक्तिको स्वास्थ मात्र नभई परिवार, समाजसमेत अक्रान्त हुदै जादै छ ।
वर्तमानमा अनुशासित हिसाबले मदिरा पान गर्नाले फाइदा हुने कुरा वृजमोहन मिश्र(पि.एच.डी.,अल्कोहल टेक्नोलोजी) बताउँछन् । उनका अनुसार मेडोरेट शैलीमा अर्थात् मात्रालाई आधार बनाई पान गर्नु हितकर हुन्छ । मानिसले आफ्नो तौल अनुसार त्यति नै मि.लि.को मदिरा पान गर्ने मात्रा नै मोडरेट हो । आर्थात् ६० केजीको व्यक्तिले ६० मिलिलिटर र ७५ भएकाले ७५ मि.लि. प्रयोग गर्ने भन्ने हो । मोडरेट पानबाट भोक जगाउने, पाचन क्रिया दुरुस्त राख्ने र कोलेस्ट्रोल नियन्त्रणमा राख्ने हुन्छ ।
मदिरा उद्योगले ककटेल उत्पादन गर्दैन । खासमा मदिरा केहि नमिसाई खाने तरल पदार्थ हो । तर नेपालका खास समुदायबाहेकका नवआवन्तुकहरु बढेकाले जाडोमा तातोपानी र मह मिसाएर र गर्मीमा भने कोक र स्प्राइट मिसाएर खाने चलन छ ।
५. मदिराको वजार
नेपालमा मदिराको तीन खाले वजार छ । आयातीत , स्वदेशी वियर र रक्सी । यसको कारोवारी वजार ४० अर्ब भन्दा बढीको छ । माथीको उत्पादन वाहेक हाम्रो समाजमा घरेलु रक्सी उत्पादन गर्ने समुह र जाति पनि छन । घरघरमा भट्टी राखेर बनाइने रक्सीको उत्पादन र उपभोगको वजारलाई मान्ने हो भने यसको कारोवार एक खर्व भन्दा बढी छ । गाउँघर , शहर , वाजर ,गल्ली , वाटा,े चौवाटो आदि जहीतही वीना अनुमति खुलेका मदिरा पसलहरु छन ।अरु व्यवसाय टिक्न नसकेको हाम्रो देशमा रक्सी उत्पादन , क्यासीनो र जुवा तास फस्ट्याउँदै जानु विडम्बना हो ।
घरेलु मदिरा उत्पादनमा एक पाने , दुई पाने , तीन पाने भनने चलन छ । थोरै खाँदा पनि लाग्ने (मात्तिने ) मदिरा एक पाने हो ।अरु चाही विस्तारै लाग्दै जाने वा कम लाग्ने जाने हुन । नेपालमा मदिरा उपभोग दुखमा , सुखमा , साथीभाईसंग मजा लिन , झगडा गर्न , झगडा मिलाउन , वातावरण वनाउन , व्यवहार र ठेक्का पट्टा मिलाउने काममा पनि प्रयोग हुने चलनले पनि यसको वजार विस्तार हुँदै गइरहेको छ । देखासिखी , संगत , कामउ संगै क्लव , रेष्टँुरा , जमघट , विवाहतथा अन्य भोजभतेरमा धेरैजसोले उपभोग गर्ने चलन वढदै गएकाले वजार वढदै गएको छ । पिउँदा मात लाग्ने भएकाले चाख्ने क्रमसंगै पिउने प्रचलन बढेर जाँदै छ । यसको उपभोग गर्मी याममा भन्दा जाडो याममा बढी खपत हुने देखिएको छ ।
६ .उद्योग र मापदण्ड
नेपालमा ५२ वटा भन्दा बढी रक्सी बनाउने उद्योग छन । तर छिमेकी देश भारतका ठूला राज्यमा १२ वटा मात्रसंचालनमा रहेका छन । भारतमा देशको जनसंख्याको २० प्रतिशतले मात्र माछा ,मासु तथा मदिराजन्य पदाथ उपभो गर्ने गर्दछन । विश्व स्वास्थ संगठनले नेपालमा १४ वर्षदेखि ६० पषर््ो उमेरका २९ प्रतिशतले मदिरापान गर्ने गरेको कुरा ८ वर्ष अघि गरेको अनुसन्धानले देखाएको छ । त्यो हिसाबलाई आधार मान्ने हो भने अहिले नेपालमा ४० प्रतिशतभन्दा बढि मदिरापान गर्नेहरू हुनसक्छन् ।
सरकारले मदिरा उत्पादन तथा आयातबाट भन्सार, अन्तःशुल्क, भ्याट, राजस्व, आयकरसहित असुल गर्दै आएको छ । त्यसमध्ये अन्तःशुल्क तर्फको मदिराबाट मात्र २५ अर्बभन्दा बढी राजस्व उठ्छ । हरेक वर्षको बजेटभाषणमा सरकारले सुर्ति, चुरोट र मदिराजन्य पदार्थमा राजस्व वृद्धि गरिरहेको हुन्छ ।
नेपालमा चलानी मदिरा उद्योगको लागि कच्चा पदार्थको अभाव रहेको छ । लगभग ९० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुन्छ । मदिरा उद्योगहरू अयातित पदार्थबाट मात्र चलेका छन् । देशको मदिरा उद्योगमा प्रविधिक जनशक्ति कम भएकाले भारतीय जनशक्तिमा भर पर्नु परेको अवस्था छ ।
नेपालमा उत्पादित मदिराको गुणस्तर मापन गर्ने आधार नभएको पाइएको छ । सरकारले प्रयोगशाला बनाएर मदिराको गुणस्तर कायम गर्न सकेको छैन । त्यसखाले उत्पादन जाँचको आधार कमजोर भएकाले मानवस्वस्थ प्रति सरकार उदासीन भई खेलवाड गरिरहेको छ ।
७. जनस्वास्थमा असर
विश्व स्वास्थ संगठनले मदिरा सेवनलाई मानसिक स्वास्थ समस्या भन्दै विकासुन्मुख देशमा मृत्युदर उच्च हुनुका कारण मदिरालाई मानेको छ । विकशित देशमा भने यसलाई तेस्रो कारण मानिन्छ ।
अत्यधिक मदिरा सेवनबाट टाउको दुख्ने, शरीर भारी हुने, पाचनक्रिया विग्रेर जान्छ । मदिरा लतमा परेकाहरूले पिउन कम गर्दा वा छाड्दा हातखुट्टा काम्ने, बरबराउने, विहोस हुने, ठेकानका कुरा नगर्ने, उत्तेजनामा आउने र झगडा गर्न उद्धत हुनुका साथै छारे रोगका लक्षणहरू देखिने चिकित्सकहरूले बताउछन् । अत्यधिक मदिराको प्रयोगले मधुमेह, उच्च रक्तचाप र कलेजोको समस्याहरू आई लाग्छ ।
हरेक दिन मदिरा पिउनु स्वास्थका लागि हानिकारक छ । उमेरको मात्राभन्दा बढी मात्रा सेवन गरेमामानिसको मुटुलाई सिधै असर गर्छ । मदिरामा धेरै क्यालोरी हुने हँुदा मोटो मानिस र मधुमेह भएको विरामीले नखानु नै वेस हुन्छ ।
क्यान्सर रिसर्च युके ले गतवर्ष गरेको अनुसन्धानमा बेलायतमा मात्रै मदिराका कारण वर्षेनि १३००० मानिसलाईक्यान्सर हुने बताइएको छ । मदिरामा हुने अल्कोहलका कारण शरिरले संक्रमणबाट लड्न सक्ने क्षमता गुमाउँछ । प्रजनन्बारे गरिएको अध्ययनमा नियमित मदिरा सेवन गर्ने महिलामा गर्भ नबस्ने र धेरै मदिरा सेवन गर्ने पुरुषको शुक्रकिट कम हुँदै उत्पादन क्षमतामा ह्रास आउँछ ।
मदिरा पान पछि हुने सवारी दुर्घटनाका कारण वर्षेनी हजारौं संख्यामा मानिसको अकालमा मृत्यु हुन्छ , अंगभंग हुन्छ ,साधन सम्पति नाश हुन्छ । रक्सीकै कारण हिंसात्मक अपराधका घटनाहरु बढिरहेका छन । मदिराको अत्यधिक सेवनले साधारण , मध्यम र रोजगारी गर्ने मजदुरले आफनो आयको धेरै भाग खर्च गरि व्यक्तिको घर विग्रीएको छ , उजाडिएको छ । बालबालीकाहरुपढन , लाउन र खान पाउनवाट वन्चित भएका छन भने महिला माथीको हिंसा बढीरहेको छ ।
काठमाण्डौमा भैरहेको मापसे जाँचमा भैरहेको कडाईले सकारात्मक प्रभाव परि अकालमा मृत्यु हुनेमा कमी आएको र अपाङ्गहुनेहरुको संख्या घटदो देखीएको छ । तर राजधानीमा हुने मापसे जाँच माफसलमा ज्यादै न्यून हुँदा फितलो देखीएको छ । दक्ष जनशक्ति र ब्रेथलाइजरको कमीले जिल्ला सदरमुकाममा त केही हुन सकेको भने अन्यत्रको कुरो नगरेकै वेस ।
८.सरकारको उदासिनता — यस्तो अवस्था विद्यमान हुँदा पनि सरकार चाही रक्सी आयात गरेर राजस्व बढाउन मै तल्लीन देखिएको छ । नेपालमा विश्वको ५० औं देश वाट विदेशी मदिरा आयात भएर देशी उद्योगको व्यवसायलाई लात मारेको छ । मदिरामा आ.ब. २०७२।७३ मा साढे नौ अर्व बैङ्गिग लगानी भएकोमा आ.ब. २०७३।७४ को भदौसम्म ९ अर्व ७५ करोड भन्दा बढी लगानी भएको देखिन्छ । उद्योग विभागले उद्योग खोल्न दर्ता गरी बैैकहरुले लगानी गर्दै आउदा पनि वाणीज्य विभागले आ.ब. २०७२।७३ मा दुई अर्व भन्दा बढीको मदिरा आयात गर्न इजाजत दियो । सरकारी निकायवीच नै राजस्व असुल्ने हानाथापले नागरिकको स्वास्थ प्रतिको जिम्मेवारी भनेको रामराम नै हो ।
९. गर्नु पर्ने कुराहरु — जथाभावी जहीतही खोल्न दिएका कारण विहारको शराबवन्दीले नेपालको तराई क्षेत्र मदिरा व्यवसाय विस्तार हुँदै जाँदो छ । गाडी , मोटरसाइकल , रिक्सा ,साइकल , र पैदल वाट पनिपारिका मानिस आएर व्यवसाय बढाएका छन । हाम्रा सरकारी निकाय भने रोजगारी बढ्यो भनेर मख्ख छ । स्थानीय निकायहरु नगरपालीका , राजस्व , उद्योग तथा वाणीज्य कार्यालयहरुवाट राजस्व असुल्न सहजै अनुमति पत्र दिइने गरिएको छ । तर अनुमति पाएका व्यवसायीहरुले कहाँ , कसरी , कस्तो अवस्थामा खुलेका छन , त्यसवाट नागरिकको स्वास्थ र सुरक्षामा कस्तो असर परेको छ , त्यसतर्फ अनुमति दिने निकाय त मौन छन नै , संगसंगै प्रशासन , प्रहरी पनि मुक दर्शक हुने गरेका छन ।
नागरिकको स्वास्थ र सुरक्षा गर्ने जिम्मेवारी प्रहरी, प्रसाशनसँगै अनुमति दिने निकयहरूको पनि हो । तर आपसी समन्वय नहुँदा जो हात ,सो सातको अवस्थाले विद्यालय, अस्पताल, मन्दिर, मस्जिद, गुम्बा, समाज र सार्वजनिक स्थलका स्थानीयवसीहरू हतप्रद छन् । स्थानीय निकायहरू माथिका सार्वजनिक स्थलप्रति जिम्मेवार नदेखिदा विराटनगरको मदिरा व्यवस्थापन अभियानले आ.व. ०६९।७० वर्षदेखि नै सचेतना अभियान चलाउँदै आएको छ । तर यी मथिका निकयहरूले सार्वजनिक स्थलको महत्व र अवस्थालाई नबुझिइ दिदाँ, जनता निरिह बनेको छ । विराटनगर नगरक्षेत्रमा खुलेका ८०० भन्दा बढी मदिरा पसलमा आधाभन्दा बढी घरेलु रक्सीको बिक्रीबतारण हुने गरेको छ । नगरक्षेत्रको आसपासमा खुलेका भट्टीबाट वर्तमानमा रेजगारीको माध्यम बने पनि घरेलु रक्सी उत्पादन र बिक्रिवितरणले नागरिकको स्वास्थ र सुरक्षामा असर गरीरहेको तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
प्राय प्रत्येक जिल्लाको सदरमुकाम र शहरोन्मुख क्षेत्रमा प्रत्येक २÷४ घर पिछ्छे एउटा मदिरा व्यवसाय नभएको उदाहरण कमै छ । जिल्ला सदरमुकाम मात्र नभई इलाका क्षेत्रमा लाग्ने हाटबजारमा पनि साग, सब्जीभन्दा मासु र मदिराको माग र खानपान बढी रहेको छ । सडक पुगेको ठाउँ, राजमार्ग वरपरका क्षेत्र, सुकुम्बासी बस्ती, उद्योग कलकारखाना, अस्पताल, मन्दिर, मस्जिद , बसपार्क आदि छेउछाउमा खुलेका भट्टी पसल र रेस्टुराहरूमा अवैध रूपमा बनाइएका रक्सी प्रशस्त हुने र बेच्ने गरेको पाइन्छ ।
एक विहानै मा.प.से. गेरको रिक्साबाट आवतजावत गर्ने अवस्थामा नागरिकले कस्तो अवस्था भोगेका होलान , सहजै अनुमान गर्न सकिन्छ । रिक्सावाल मात्र होइन , साइकिल हाक्ने पनि मा.प.से. मा हुन्छन् । विद्यालय , मन्दिर , अस्पताल छेउ वा सँगै खुलेका मदिरा पसलबाट विद्यार्थी, युवा र सामान्य नागरिक पनि मदिराको गन्ध र प्रभाव अनुभव गर्दै हिड्न बाध्य छन् । यी पसलहरू विहानैदेखि राती अवेरसम्म खुल्ला रहने अवस्थाले विद्यार्थी तथा नागरिक पनि सहजै लहसिने र बरालिने हुन्छन् । यसबाट समाजलाई पनि नकरात्मक प्रभाव परिरहेको छ । यो व्यवसायमा महिलाको प्रतिनीधित्व बढी हुने हँुदा पैसाका अगाडि हिंसा अपांङ्ग हुन जान्छ र तिनका बालबच्चाले कस्तो शिक्षा पाउने होलान ? सोचनीय छ ।
यी कुरालाई महसुस गरेर अभियानले स्थानीयसँगै व्यवसायलाई पनि सचेतना गराउन छलफलमा सहभागी गराउने, स्थानीय निकायलाई यसतर्फ जिम्मेवार हुन आन्दोलित जुलुसमार्फत सचेत गराउदै आएको हो । यस क्रममा गएको वर्ष हिमशिखर टेलिभिजनमार्फत राजस्व, प्रहरी, प्रसाशन, नगरपालिका प्रमुखसँग महिला र स्थानीय समेतको सहभागितामा छलफल कर्यक्रम चलाइएको हो । वि.सं. २०१५ सालमा स्थापित विराटनगरका बौद्विकहरूको संस्था एलिट क्लबमा प्रशासन, प्रहरी, राजस्व प्रमुखको उपस्थितिमा छलफल चलाइएको हो । विभिन्न संघसंस्थाहरूको सहभागितामा पनि अभियानले सार्वजनिक स्थानमा यो व्यवसाय व्यवस्थित गराउनका लागि आफ्नो धारणा राख्दै आएको छ । अभियानले मदिराबारे प्रस्ट ऐन, नियमको व्यवस्था नहुँदा दवावका लागि हस्ताक्षर अभियान चलाएर प्र.जि.अ. मार्फत सम्माननीय प्रधानमन्त्रीले पाउने गरि जोड दिइएको हो ।
स्थानिय निकायको काम कर्तव्य भनेको नागरिकको स्वास्थ, सुरक्षा र सेवा पनि हो । स्थानीय निकायका पदाधिकारी पनि यहि समाजको उपज भएकाले आम समुदायको स्वास्थ, सुरक्षा र शान्तिप्रति जिम्मेवार रहि व्यवस्थापनमा लाग्नु जरुरी छ । कम्तीमा मन्दिर, मस्जिद, अस्पताल, विद्यालय र सार्वजनिक स्थलको वरिपरि र बीच समाजमा व्यवसाय संचालन हुन नदिन समाजसँग मिलेर व्यवस्थापन गरिनु आवस्यक छ ।

लेखकः फणिराज नेपाल
मदिरा व्यवस्थापन अभियान