रिभेरा इन्टरनेशनल एकेडेमीले ‘घरको माया’ नाटक मन्चन गर्यो
काठमाडौंको थापागाउँ स्थित गुरुकुल नाटक घरमा नाटक ‘घरको माया’ मञ्चन भएको छ। रिभेरा इन्टरनेशनल एकेडेमीले आफ्नो २५ औं बार्षिकोत्सवको अवसरमा विद्यालयका अभिनय सदनका विद्यार्थीहरुद्वारा उक्त नाटक मन्चन गरेको छ ।
कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा आधारित नाटककार भीमनिधि तिवारीद्वारा लिखित उक्त एकांकी नाटक यहि फाल्गुण ३ र ५ मा मन्चन गरिएको थियो । नाटकमा कक्षा ५ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुले अभिनय गरेका थिए । अभिनय गर्ने विद्यार्थीहरु रोमन, आरुषी, प्रतिक, प्रायुषा, अध्येता, अग्रता, श्रृष्टी, संकल्प, नितेष, बैकुण्ठ, फिओना, सोजल, अध्ययन, रोल्याण्ड, जेसिका, आस्था, अनुष्का, आरोन, रोविन लगायतले विभिन्न भूमिका निर्वाह गरेका थिए ।
बार्षिकोत्सवको अवसरमा २ दिन मन्चन गरिएको नाटक फेरी सर्वसाधारणका लागि मन्चन गर्ने योजना रहेको विद्यालयका प्रिन्सीपल प्रज्वल कोइरालाले जानकारी दिनु भयो । विद्यार्थीहरुको अभिनय क्षमता विकास गर्न विभिन्न क्रियाकलापहरु गरिरहेको विद्यालयले आगामी दिनहरुमा अझ नाट्यकलामा जोड दिने उहाँको भनाई थियो ।
विद्यालयले यस भन्दा अघि पनि स्वास्थानी ब्रतकथामा उल्लेखित सतीदेवीमा आधारित नाटक र मोबाइलको प्रयोगले विद्यार्थीको जीवनमा पार्ने असर बारे नाटक मन्चन गरिएको थियो । विगतमा विद्यालयका विद्यार्थीहरुले भारतमा गएर समेत नाटक प्रदर्शन गरेर उत्कृष्ट रहेको र अर्कोबर्ष समेत भारतमा नाटक प्रदर्शन गर्न लैजाने योजना रहेको विद्यालयका विद्यालय सन्चालक समिति अध्यक्ष नरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
उक्त एकांकी नाट्य रुपान्तरण तथा निर्देशन विगत लामो समयदेखि विद्यालयमा नाट्यकला सिकाउँदै आउनु भएका शिक्षक प्रभाकर नेउपानेले गर्नुभएको थियो ।
नाटकको सार यस्तो छः
आफ्नो जन्मभूमि नेपाललाई माया गर्ने विदेशी भूमिमा रहेकाहरुलाई भेला गराएर देशप्रतिको माया झल्काउने काम नाटकले गरेको छ ।
नेपालीहरू आफ्नो घरको कमजोर आर्थिक अवस्थालाई सुधार्नुका लागि धन कमाउने उदेश्यले विदेशतर्फ जाने गर्दछन् भन्ने कुरालाई नाटककारद्वारा यस एकाङ्कीमा एकातर्फ देखाइएको छ भने अर्कातर्फ विदेशमा पनि भनेजस्तो राम्रो र सन्तोषजनक काम पाउँन नसक्दा दुस्ख कष्ट झेल्नु पुग्दछन् भन्ने यथार्थलाई प्रष्ट रूपमा औंल्याइएको छ । आफू जन्मिएको देशलाई कसैले कहिल्यै भुल्नुहुँदैन भनी देशप्रतिको मायालाई एकाङ्कीले देखाएको छ ।
नेपाली हृदयका लागि विदेश भनेको सुन र हिरा नै फल्ने भए पनि नरककुण्ड जस्तै हो र स्वदेश भनेको रूखो जमिन भए पनि स्वर्गसमान हुन्छ भन्ने देशभक्तिपूर्ण भावनाले प्रेरित मार्मिक सन्देश यस एकाङ्कीले दिएको छ । आफ्नो घरको कमजोर आर्थिक अवस्थालाई सुधार्नुका लागि धन कमाउने उदेश्यले विदेशतर्फ गएपनि विदेशमा भनेजस्तो राम्रो र सन्तोषजनक काम पाउँन नसक्दा नेपालीले दुस्ख कष्ट झेल्नु पुग्दछन् भन्ने यथार्थलाई औंल्याइएको छ