तस्कर, गुन्डा, अपराधीसँग प्रहरी चाकडी गरेको देख्नु नपरोस् : गृहमन्त्री

काठमाडौं–उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तस्कर, गुन्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य र नेताको चाकडी गरेको देख्नु नपरोस् भनेका छन् ।
प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि निर्देशन दिँदै लामिछानेले राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्तिविकासको सुनिश्चितता गर्न नसक्दा सरुवाबढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहेको बताए ।
‘त्यसको सुरुआत पहिलोपटक गृहमन्त्री हुँदा डीआइजी र एसएसपीहरुको सरुवाका क्रममा गरेको थिएँ । त्यसबेला सरुवा भएर मधेस प्रदेशमा जानुहुने वर्तमान महानिरीक्षकले नै त्यसबारे धेरै बताउन सक्नुहुन्छ,’ उनले भने ।
कुनै कर्मचारी सरुवाबढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्ने र त्यसको योजना बनाएर ल्याउनुस्, कसरी के गर्नुपर्छ, गर्ने उनले बताए ।
‘म कुनै व्यक्ति विशेषको सरुवाबढुवा गर्ने र त्यसबापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न गृह मन्त्रालय आएको होइन,’ उनले भने, ‘केही फरक गर्ने चाहना, नीति र विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकल्प बोकेर आएको हुँ । त्यसमा तपाईंहरुको सहयोग मिल्नेछ भन्ने ठानेको छु ।’
आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन, अनावश्यक भारी नबोक्न र निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्न उनले आग्रह गरे । ‘नीति र विधिभित्र रहेर काम गर्नुहोस् । कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ सोही स्थानमा राख्नुहोस् । मबाट तपाईंहरुको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने, अन्यले चाहिँ संगठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ,’ उपप्रधानमन्त्री लामिछानेले भने ।
तीस वर्षे सेवा अवधिको विषयमा आफू क्लियर रहेको र हटाउने आश्वासन उनले दिए । ‘तर, के, कसरी र कुन बेला भन्ने कुरा छलफलबाट टुंग्याउनुपर्छ । यसमा पनि कोही न कोहीले त्याग गर्नुपर्छ । कसैलाई तत्काल लाभ वा हानी पनि पर्न सक्छ । व्यक्तिलाई होइन अधिकांशको हित हुने गरी दीर्घकालसम्मका लागि नीति बनाउनुपर्छ,’ उनले भने ।
प्रहरी समायोजन टुंगोमा पु¥याउन सरोकारवालासँग छलफल र गृहकार्य गर्ने उनले बताए । ‘हरेक नागरिकले सुरक्षित महसुस हुने गरी प्रहरीले सेवा दिनुपर्छ । सानालाई ऐन र ठूलालाई चैनको अवस्था कुनै हालतमा पनि सैह्य हुँदैन,’ उनले भने, ‘न्याय सबैले पाउनुपर्छ । अनुसन्धान निष्पक्ष र वस्तुनिष्ठ हुनुपर्छ । आरोपित, अभियुक्त र अपराधी को र कुन पार्टीको हो भनेर अनुहार हेर्ने अवस्थाको अन्त्य हुनैपर्छ,’ लामिछानले भने ।
कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्ने उनले बताए । ‘कानुनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस् । त्यसबाट उब्जिने हरेक चुनौतीको सामना म आफैं डटेर गर्नेछु,’ उनले भने ।
प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने उनले स्पष्ट पारे । ‘त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नु होला । कानुनअन्तर्गत रहेर तपाईंहरुले गर्ने हरके कामको जिम्मेवारी लिन्छु, परेको चुनौती पनि व्यहोर्छु,’ उनले भने । प्रहरी संगठनका विद्यमान समस्या समाधानमा इमानदार प्रयास गर्ने र प्रविधिको प्रयोगलाई बढाउन उनले बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रहरीको सांगठनिक संरचना, जनशक्ति परिचलान, समस्या र चुनौतीबारे जानकारी गराएका थिए । त्यसअघि मन्त्री लामिछानेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै वीरगति प्राप्त प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
हामी अहिले परिक्षण कालमा छौं।
