इलाम २: एमालेमा विग्रहको संकेत, सुहाङले गर्नुपर्ने बाचा

बैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम क्षेत्र नं. २ मा नेकपा एमालेको तर्फबाट स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको छोरा सुहाङ सहित २० जना उम्मेदवारको उम्मेदवारी परेसँगै चुनावी सरगर्मी बढेको छ ।
यो सँगसगै एमालेको दबदबा रहेको इलाम २ मा सुवाचन्द्रको मृत्युपश्चात पार्टीले लिएको निर्णय प्रति विद्रोहको संकेत समेत देखिएको छ । जिल्लामा बसेर दशकौंदेखि संगठन विस्तार र राजनीतिक गतिविधिमा सक्रिय रहेका नेताहरुलाई उपेक्षा गरेको केही नेताहरुले सार्वजनिक रुपमै बताउने गरेका छन ।
धेरै उम्मेदवारहरुको आकांक्षाका बिच ६ जना प्रतिस्पर्धी उम्मेद्धारको नाम स्थानीय, प्रदेश हुँदै केन्द्रमा आइपुगे पछि छनोटमा परेका उम्मेदवार सुहाङ नेम्वाङको परिक्षाको घडि नजिकिदै गर्दा उनमा भन्दा बढी उनीलाई उम्मेदवार छनौट गर्ने नेतृत्वको मुटुको ढुकढुकी सामाजिक सन्जाल तथा विभिन्न मिडियाबाट नाप्न सकिन्छ ।

इलाम २ को उपनिर्वाचन ०५६ देखि निरन्तर जितिरहेको एमालेको लागि चुनौति बन्ने देखिएको छ । अन्य ठुला दल नेपाली कांग्रेस, माओवादी र भरखर उदाउँदै गरेको रास्वपाले भने आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर हेरिरहेका छन ।
२०५६ सालदेखि सुवाचन्द्र नेम्वाङको एकछत्र चलेको राज २०७९ मा आएपछि धरमराएको थियो । कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई १ सय १४ मतले मात्र पराजय गरेका नेम्वाङ एमाले भित्र सालिन, भद्र र बौद्धिक राजनीतिज्ञका रुपमा रहेपनि नेकपा विघटन, तत्कालिन नेकपाका अध्यक्ष हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईदुई पटक गरेको संसद विघटनमा ओलीको पक्षमा उभिएपछि उनको राजनीतिक छविमा बादल लाग्न थालेको निर्वाचन परिणामले पनि देखाएको थियो ।
उनै नेम्वाङको मृत्यु पश्चात हुन लागेको उपनिर्वाचनमा एमालेका पार्टी उपाध्यक्ष उदय राई, नेता जयप्रकाश राई, डा. देवी क्षेत्री दुलाल, प्रदेश सभा सदस्य राम राना, प्रदेश सदस्य गणेश बराल, क्षेत्रिय इन्चाज तथा लामो समय सुवासचन्द्र नेम्वाङका स्वकीय सचिव रहेका बुद्धि खनाल, युवामा बौद्धिक छवि बनाएका र उर्जाशिल युवा रबिन्द्र सुवेदी जस्ता हस्तीहरु राजनीतिक शक्ति आर्जन गर्न लागिरहेको अवस्थामा एकाएक सुहाङलाई भित्र्याएर पाटीले स्थानीय नेतालाई अनदेखा गरेको आरोप लाग्ने गरेको छ ।
एमालेका अग्रज नेता नरेन्द्र भट्टराई, २०४८ मा निर्वाचित पुराना नेता मणीकुमार लिम्ब, इलाम ३ वटा निर्वाचन क्षेत्र हुँदा हाल क्षेत्र नं. २ मै पर्ने तीनबाट २०५१ सालमा निर्वाचित पदम भण्डारी, महेश बस्नेत, रामराना लगायत धेरै नेताहरु सुवासकै कारण संसदीय फाँटमा छिर्न पाइरहेका थिएनन । संघियता घोषणा भएर संविधान लागु भएपश्चात रामराना सहित केही नेता प्रदेशमा र पार्टी फुटेपछि महेश बस्नेत बल्ल इलाम १ मा जान पाएर संघीय संसद हुन पाएका हुन ।
एमाले इलाम भित्र एउटा भनाइ चर्चित छ ‘राजनीतिमा अघि आउन कि जनजाति कि जनजातिको आर्शिवाद लिने व्यक्ति चाहिन्छ’ स्थानीय तहका प्रमुख जनप्रतिनिधि र ०५६ पछिको संसदिय अभ्यास हेर्दा कतै माथिका कुरा हो कि भन्ने झै लाग्छ । सधै नेतृत्व गर्ने बेलामा जातिय मुद्धा उठ्न थालेपछि अर्को विद्रोहको संकेत इलाम २ ले गरेको छ ।
विगत लामो समयदेखि पार्टीमा आवद्ध एकजना जिल्ला नेता भन्नुहुन्छ ‘हामी जनजाती नभनी नेम्वाङलाई बोकेर हिड्यौ, उनलाई बोकेको काँध अझै गन्हाइरहेको छ, उनको मृत्युपछि पनि उनैका दर सन्तानलाई बोक्ने हो भने हामीले के का लागि राजनीति गर्ने ? हामीले काँध फेर्ने बेला भयो भन्ने धेरैको भनाइ छ’ उनले भने २४ बर्ष देखि यो क्षेत्रले के पायो भनेर कार्यकर्ताले नै भन्न थालेका छन, हामीले जवाफ दिने ठाउ छैन, बैलैमा बुद्धि नपुर्याए यसपाली मतदातले स्वतन्त्रपुर्वक भोट हाल्नसक्ने छन । एमालेका लागि त्यो घातक हुने छ’
प्रगतिशिल लेखक एवम विश्लेषक डा.देवी क्षेत्री दुलालले इलाम २ मा उम्मेदवार चयन गर्दा यस पटक मिहीन ढंगले मतदाताको मनोभावना नबुझेको आरोप लगाएका छन ।
‘पहिचान वा जातीय मुद्दाका सवालमा कोही अतालिनु पर्दैन । तर नयाँ अनुहार वा सहानुभूति साथै लहडमा उम्मेदवार चयन गर्दा एमालेले ऐतिहासिक क्षति ब्यहोर्नसक्ने परिस्थीति बनेको देखिदैछ,’ डा.दुलालले भने, ‘पुराना, सक्रिय र क्षमतावान नेताहरुको योगदानलाई कदर गर्नुपर्नेमा अपमानित गर्नु पार्टी हित विपरित हुन जान्छ । इलाममा ठुला दल तर्सिएको बेला सहानुभूति र उत्तराधिकारी खोज्ने परिस्थिति थिएन ।’ संगठन निर्माणमा सक्रिय, क्षमतावान र अवसर नपाएका लोकप्रिय उम्मेदवार सबैको साझा हुन्छन उनीहरुलाई सक्रिय बनाइराख्न जरुरी छ ।’
इलाम क्षेत्र नम्बर २ विकासका दृष्टिकोणले केही पछाडि परेकाले विकासमा मुद्दालाई मतदाताले प्रमुख ठानेका छन । त्यो बाहेक उम्मेदवारको व्यक्तित्वले उक्त क्षेत्रमा विशेष अर्थ राख्दै आएको छ । २०५६ सालयता विजयी हुँदै आएका दिवंगत नेम्वाङको ठाउँमा एमालेको अर्को उम्मेदवार त्यसमाथि विरासतकै रुपमा उनकै छोरालाई उम्मेदवार बनाउने वित्तिकै मतमा ठूलो अन्तर देखिने निश्चित छ ।
प्रतिनिधि सभा निर्वाचन भएपछि उक्त क्षेत्रमा विकासका मुद्दाले पनि विशेष अर्थ राख्दै आएको छ । बहुपतिक्षीत आयोजनाहरु रवी–राँके सडक, इलाम–मंगलबारे सडक, जितपुर–सिद्धीथुम्का सडक, रतुवा खोला पुल, किरात धर्मगुरुको क्षेत्रमा माग गरे अनुसारको विकास नगरेको आरोप एमालेले खेप्दै आएको छ ।
कांग्रेस, रास्वपा, एकीकृत समाजवादी, राप्रपा जस्ता पार्र्टीहरु त्यस क्षेत्रबाट नजित्ने र राज्यको जिम्मेवार ठाउँमा नपुगेकाले त्यो आरोपबाट जोगिएका छन । पछिल्लो समय कोशी प्रदेशको नामकरणको विषय वा पहिचानको मुद्दा र दुर्गा प्रसाईंको अभियानले समेत ठूला दलहरु प्रति नकारात्मक सोचाई विकास गर्न सहयोग गरेको छ । त्यसमाथि सबैभन्दा बढी पहिचानको मुद्धामा एमाले निसानामा छ ।
प्रदेश नम्बर १ लाई कोशी नामाकरण गर्ने सरकारको नेतृत्व एमालेले गरेको थियो । एमालेका मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वको प्रदेश सरकारले प्रदेश १ को नाम ‘कोशी’ प्रदेश राख्ने निर्णय गरेपछि पहिचानका आधारमा नाम राख्नु पर्ने माग राखि विभिन्न शक्तिहरु चरणबद्ध आन्दोलनमा लागिरहेको र ती शक्ति, समूह जनजाती बाहुल्य रहेकोले तीनीहरुको मत तान्न सहज नभएकाले जनजाति समूहकै उम्मेदवार भएपनि सुहाङ त्यसमा कमजोर रहने आंकलन एकथरिले गरेका छन । एकजना नेताले नाम नबताउने शर्तमा भने ‘हिजो जनजातिको माग अनुरुप प्रदेशको नामाकरण गर्न नसक्ने अनि अहिले आएर हाम्रो पनि जनजातीकै छोरो उम्मेदवार छ, भोट देउ भन्दा सहजै हाल्छन ?’ उनले भने ‘हामी यसमा पनि चुक्यौ’ ।
सुहाङ किन ? भन्ने प्रश्नमा एकजना नेताले भने ‘खै ? पाटीले निर्णय गरेको हो सुहाङ भनेर, तर आम कार्यकर्ता त्यसको पक्षमा छ छैन भन्ने कुरा पाटीले नसुनी निर्णय गरेर पठायो ।’ उनले भने ‘सुहाङ अस्ति सम्म पार्टी सदस्य पनि थिएनन, फेरी सुहाङ इलाम २ का अन्य नेता कार्यकर्ता भन्दा कनिष्ठ हुन, उनमा क्षेत्रगत जानकारी, राजनीतिक अवस्थाको जानकारी छैन, भुगोलसँग परिचित छैनन यो उनको कमजोरी हो त्यो भन्दा ठुलो उनीमाथि अर्को आरोप छ, उनले अहिले सम्म आफ्नो बाउलाई पनि भोट हालेनन, ०७९ को निर्वाचनमा मतदान हुनुभन्दा २ दिन अघि इलाम तिर देखा परेका थिए, फेरी हराए’ उनले भने ‘अनि अहिले एकैचोटी नेता उम्मेदवार बनेर आउँदा उम्मेदवार बनेर आउँदा मतदातालाई के भन्ने ? उम्मेदवार बनाउने पनि कस्ता ?’ उनको प्रश्न थियो ।
इलामको लामोसमय राजनीति गर्नुभएका हालका प्रदेश सभा सदस्य राम राना भन्नु हुन्छ ‘सुवास नेम्वाङ जस्तो नेताको अकल्पनीय निधन इलाम मात्र नभई सिंगो पाटीकोलागि क्षति हो, त्यो क्षतिको पुर्ति उनकै छोराले पुर्नपर्छ भन्ने हाम्रो कामना हो, हाम्रो लागि सुहाङ सुवासको होइन एमालेको विरासत थाम्न आएका हुन’
युवा नेता जिल्ला पार्टी उपसचिव रबिन्द्र सुवेदीको मत छ ‘हो म पनि उम्मेदवारीको आकांक्षी थिए, पार्टीले हाम्रो नाम सिफारीस गरेर पठाएको पनि थियो तर पार्टीेले सुहाङ नेम्वाङको उम्मेदवारी दिने निर्णय गरेपछि, मैले चाहिँ किन सहयोग गर्ने भन्ने प्रश्नै होइन, पार्टीको नेतृत्व हामीले मान्नुपर्छ, हामीले पार्टीलाई जिताउन भरमग्दुर प्रयास गर्नुपर्छ, गर्नेछौं र जित हासिल पनि गर्ने छौं’
एमाले जिल्ला सचिव उमेश गुरुङ इलाम क्षेत्र.२ मा पार्टी संगठन बलियो भएकाले जित आफ्नै दलको हुने दाबी गर्छन । ‘हामी तीन–चार महिनादेखि नै यो क्षेत्रमा चुनावी तयारीमै केन्द्रित छौं, पार्टी संगठन बलियो छ, जित निश्चित नै छ ।’ सचिव गुरुङ भन्छन, ‘अब पनि पार्टीको सिंगो पंक्ति यही निर्वाचनमा केन्द्रित हुनेछ ।’
नेम्बाङले लामो समय एउटै ठाउँबाट नेतृत्व गर्दा सबैले चाहे अनुरूपको विकास र प्रगति हुन नसकेको गुनासो निर्वाचन क्षेत्रका मतदाताको छ । यतिमात्र होइन, कोशी प्रदेशको नामकरणमा व्यक्त पहिचानवादीको असन्तुष्टि पनि आउँदो निर्वाचनको मतमै देखिने अर्र्को चुनौतीसमेत एमालेलाई छ ।
सचिव गुरुङले पनि यसलाई चुनौतीकै संज्ञा दिए । ‘०७९ को निर्वाचनमा विपक्षीको प्रलोभनले हाम्रा केही मतदाता प्रभावित भएका थिए, अब त्यस्तो अवस्था रहन दिनहुँदैन,’ उनले भने, ‘केही चुनौती छन, तिनको निराकरण गर्ने उपाय पनि छन, नतिजा एमालेकै पक्षमा आउनेछ ।
इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन । गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ ।
इलाम नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो । २०४९ सालको स्थानीय निर्वाचनपछि पहिलोपटक इलाम नगरपालिकामा कांग्रेसले जितेपछि एमालेलाई ठूलो असर परेको छ ।
स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने इलाम–२ मा कांग्रेसले एमालेभन्दा चार सयभन्दा बढी मत ल्याएको थियो । कांग्रेसले ३२ हजार ९ सय ७८ मत पाउँदा एमालेले ३२ हजार ५ सय २७ पाएको थियो । माओवादीले २ हजार ७ सय १७, जसपाले ५ सय ५४, एकीकृत समाजवादीले २ सय ७७ र राप्रपाले १ सय ३० मत पाएका थिए ।
त्यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, नेकपा एमालेले २६ हजार ५ सय ६२, माओवादी केन्द्रले पाँच हजार १ सय ५३, जनता समाजवादीले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ र स्वतन्त्रले ४ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए । यस हिसाबले हालको सत्तारुढ गठबन्धनको मत बढी देखिन्छ यस हिसावमा नेकपा पहिलो, प्रतिस्पर्धी कांग्रेस दोश्रो र रास्वपा तेश्रो हुने आंकलन धेरै स्थानीयले समेत गरेका छन । गठबन्धन सरकारमा रहेर पनि आफ्नो अलग्गै उम्मेदवार उठाएको एकिकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक बन्न सक्ने देखिएको छ । एकिकृत समाजवादी प्रतिस्पर्धामा आउन नसक्ने र अघिल्लो निर्वाचनमा ४ हजार ६ सय बढी मत ल्याएको रास्वपा भित्रको किचलो र उम्मेदवारी छनोट विवाद सतहमा आएकोले रास्वपाको मत कता झर्छ सोही पार्टी विजयी हुने धेरैको अनुमान पनि छ । राष्ट्रिय राजनीतिमा रबि लामिछानेसँगै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी स्वतन्त्रमा खसेको मत बाँडिन सक्ने देखिन्छ । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लगायतको पनि मत छ ।
एमालेबाट सुहाङ उम्मेदवार बनेपछि वंश परम्पराको आरोप लाग्ने गरेको छ । लामो समयमा त्याग र योगदान गरेर बसेका एमालेका स्थानीय नेताहरु निणर्यले केही खिन्न बने पनि पार्टीको निर्णय विपरित जान सक्दैनन तर सुहाङले आफुलाई स्पष्ट पार्न जरुरी छ । उनी बाबुको झै बर्षौ उम्मेदवार हुँदैनन, उनले अन्य नेता कार्यकर्तालाई समेत ठाउँ दिने छन ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माद्धारा कांग्रेस पार्टीमा प्रस्तावित सांसद, मन्त्री, प्रधानमन्त्री हुन पाउने वा उठ्न पाउने प्रावधान केलाउँदा जति अस्पष्ट छ त्यती नै इलाममा एमालेका सुहाङको राजनीतिक केरियर अस्पष्ट रहेको पाउन सकिन्छ । महामन्त्रीद्धारा प्रस्तावित ४ पटक सांसद उठ्न पाउने २ पटक मन्त्री हुन पाउने र बढीमा २ पटक प्रधानमन्त्री हुने व्यवस्थाको समयावधी कसरी गणना हुन्छ भन्ने नतोक्दा ४ पटक सांसद जितेर पनि मन्त्री भएन भने फेरी ५ औ पटक पनि सांसद उठन पाउने भयो, ५ औं र ६औंमा मन्त्री खाँदा र ७ औं र ८ औ पटक प्रधानमन्त्रीको पालो आउने भएकोले ३५–४० बर्ष एकै व्यक्ति उम्मेदवार बनीरहने लिखित दस्तावेज एमालेका नेता कार्यकर्ताले पचाउने छैनन नै । त्यसमाथि हारेको बर्ष गणना हुन्छ कि हुँदैन भन्ने अन्योल छँदैछ । त्यसकारण सुहाङले इलामबाट आफ्नो उम्मेदवारी दिएर मतदाता, कार्यकर्ता माझ पुग्दै गर्दा म १ वा २ कार्यकाल भन्दा बढी संसदीय राजनीति गर्दिन, हारेँ भनेपनि पार्टीको राजनीति गर्छु भनेर स्पष्ट घोषणा गर्नु जरुरी छ ।
यसो हुनसके विश्वासको वातावरण बन्दै जानेछ, बाहुन, क्षेत्री, जनजाति नभनी एमाले बनेर चुनावमा होमिने छन, नेता कार्यकर्ता पनि आफ्नो राजनीतिक भविष्यका खातिर लागिपर्ने छन र जीत निकाल्न सहज हुनेछ । अन्यथा न जनजाति भनेर बाहुन क्षेत्रिले सधैं बोकिरहने छन न अंकगणितका आधारमा एमाले जितीरहने छ । इलाम २ सुहाङ त हारेर पनि नेता बन्लान तर एमाले धेरै बर्ष हार्न सक्छ ।