निर्यात व्यवसायी महासंघले गर्यो ‘नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम’
निर्यात व्यवसायी महासंघ नेपाल (FEEN) ले नयाँ बर्ष आगमनको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । यहि बैशाख ०३ गते सोमबार नक्साल स्थित होलिडे इन एक्सप्रेस होटलमा महासंघले आफ्ना सदस्यहरु बिच शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

निर्यात व्यवसाय देशको अर्थतन्त्रको प्रमुख स्तम्भका रुपमा रहेको तर नेपालमा सो अनुसार काम हुन नसकिरहेको अवस्थामा निर्यात व्यवसायलाई स्थापित गर्ने उद्देश्यले काम गरिरहेको निर्यात व्यवसायी महासंघको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा पुर्वमन्त्री तथा सफल व्यवसायी दिपकप्रकाश बास्कोटा, नेपाल सरकारका पुर्वसचिव तथा अर्थविद चन्द्र घिमिरे, निर्यात व्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा पुर्व प्रदेशसभा सदस्य रामबहादुर गुरुङ लगायत विभिन्न वस्तुगत संघका अध्यक्ष, पदाधिकारी तथा अन्य व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष शंकरप्रसाद पाण्डेले देशको समग्र निर्यातको अवस्था भारतसँग निर्भर रहिरहेकोमा तुलनात्मक रुपमा कम गर्दै तेश्रो मुलुकमा निर्यात बुद्धि गराउने महासंघको जोड रहेको बताउनु भयो । महासंघले निर्यात व्यवसायको प्रवद्र्धनको लागि काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो ‘हामीले निरन्तर रुपमा नेपालबाट निर्यात हुने व्यवसायीक उत्पादनको प्रवद्र्धनको लागि सधै सल्लाहकारको रुपमा भूमिका खेलिरहने छौं तर राज्यले सोही अनुसार हाम्रो लागि समेत वातावरण बनाउन जरुरी छ ।’ त्यसैगरि उहाँले निर्यात व्यवसायी महासंघ स्थापनाको चार बर्ष पुग्दै गर्दा समग्र निर्यातमा अघि बढीरहेको र व्यापार घाटा कम गराउन सहयोगी भूमिका निर्वाह गरेको समेत बताउनु भयो ।
पुर्व मन्त्री तथा व्यवसायी दिपकप्रकाश बास्कोटाले भारतीय बजारमा उखु किसानलाई र व्यवसायीको संरक्षणको विषयलाई उठाउँदै नेपालमा समेत सोही अनुरुप ल्याउन जरुरी भएको बताउनु भयो । उत्पादनमा अनुदान दिने र अनुदान दिएको आधारमा केही प्रतिशत उत्पादन सस्तोमा किन्ने प्रावधानले भारतमा ४५ लाख किसानहरु लाभान्वीत भएको र गरिबहरुले समेत सस्तोमा सामान पाइरहेको बताउँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्न सके उत्पादक, व्यवसायी र राज्य सबैलाई फाइदा हुने बताउनु भयो । आज देशको अवस्था प्रहरीमा जागिर खाने, शिक्षकमा जागिर खाने मान्छे नभेटिने ठाउँमा पुगेको बताउँदै उहाँले भन्नु भयो ‘नेपालमा बैंकले नाफा मात्र खोज्दा उत्पादन हुनै नसक्ने अवस्थामा पुगेको छ, १२ प्रतिशत बचतमा ब्याज दिने अनि अनेक चुनौति व्यहोर्नु पर्ने व्यवसायमा मान्छे किन लगानी गर्छ ?’ उहाँले भन्नुभयो ‘निर्यात व्यवसायी महासंघले यस्ता समस्याहरुको विषयमा निरन्तर सरकारलाई खबरदारी गरोस ।’
संस्थाका उपाध्यक्ष दुर्गा विक्रम थापाले धन्यवाद तथा शुभकामना मन्तव्य राख्दै निर्यातलाई प्रोत्साहत तथा व्यवस्थित गर्न देशबाट निर्यात भएको जम्मा रकमको कम्तीमा १ प्रतिशत भएपनि निर्यात व्यवस्थापनमा छुट्याउनु पर्ने व्यवस्था गर्न सरकारसँग पहल गरिरहेको बताउँदै सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार पुर्वसचिव चन्द्रप्रकाश घिमिरे र संस्थाका निवर्तमान अध्यक्ष रामबहादुर गुरुङले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालक निर्यात व्यवसायी महासंघका सचिव शिवप्रसाद भट्टले गर्नु भएको थियो ।
