गणतन्त्र दिवस भव्य मनाइँदै

आज जेठ १५ अथवा गणतन्त्र दिवस । नेपाली जनताबाट चुनिएका प्रतिनिधिले राष्ट्र प्रमुखका रुपमा स्थान पाएको दिन राष्ट्रिय दिवस मनाइँदै छ ।
जनआन्दोलन २०६२÷०६३ को परिवर्तनले गठित संविधानसभाले २०६५ जेठ १५ गते नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
निरंकुश राजतन्त्रको विधिवत अन्त्य गरेको दिन भएकोले यसलाई विशेष दिनका रुपमा पनि लिने गरिन्छ । २३८ बर्ष लामो राजतन्त्र वा वंश परम्पराको अन्त्य भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । गणतन्त्रसँग नेपाली जनताको संघर्ष, बलिदानसमेत जोडिएको छ । यसदिनलाई सार्वजनिक विदा दिइँदै सैनिक मन्च टुँडीखेलमा विशेष समारोहको आयोजना गरिँदैछ ।
ससस्त्र विद्रोहमा रहेको माओवादी, नेकपा एमाले, नेपाली कांग्रेस लगायतका पार्टीहरु एकठाउँमा उभिएपछि २०६२ फागुनदेखि शुरुभएको जनआन्दोलनले लाखौ जनतालाई सडकमा उतार्यो । फलस्ववरुप तत्कालिन राजा ज्ञानेन्द्रले राजनीतिक दलको आन्दोलन सामु घुँडा टेक्न वाध्य भए र माओवादी समेत शान्तिपूर्ण राजनीतिमा आएपछि देशमा वि.सं. २०६४ चैत्र २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजतन्त्रको विधिवत अन्त्य गर्दै गणतन्त्र घोषणा भयो ।