गृहमन्त्री रवि घोषणाको भोलिपल्टै मापसे कारबाहीमा परेका ६०८ चालक सडकमा

गृहमन्त्री रवि घोषणाको भोलिपल्टै मापसे कारबाहीमा परेका ६०८ चालक सडकमा
  • १६ जेष्ठ २०८१, बुधबार ०८:१७

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार काठमाडौं उपत्यका ट्राफिक कार्यालयले मापसेलगायत सडक नियम उल्लंघन गरेका नागरिकलाई बुधबार ट्राफिक प्रहरीको ड्युटी गर्न लगाएको छ ।

मंगलबार कारबाहीमा परेका उनीहरूलाई काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न सडक बुथमा बिहान ९ बजेदेखि ‘स्वयंसेवक’ भन्दै कार्यालयले सडकमा उतारेको हो ।

महिला र पुरुष गरी मध्याह्न १२ बजेसम्म भक्तपुरमा १ सय ४५, ललितपुरमा १ सय ५९ र काठमाडौंमा ३ सय ४ गरी जम्मा ६ सय ८ जनालाई सडकमा एक घण्टा स्वयंसेवकका रूपमा ट्राफिक प्रहरीसँग खटाइएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

मादक पदार्थ सेवन (मापसे), तीव्र गति, रातो बत्ती उल्लंघन र लेन ब्रेकमा कारबाही गरिएकाहरूलाई एक घण्टा ट्राफिक प्रहरीसँगै ड्युटी गराइएको उनले बताए ।

श्रेष्ठका अनुसार, काठमाडौंको माइतीघर, सिंहदरबार, भद्रकाली, पद्मोदय मोड, पुतली सडक, भक्तपुरको सूर्य विनायक, सल्लाघारी र ठिमी तथा ललितपुरको सातदोबाटो र चापागाउँ दोबाटोस्थित ट्राफिक प्रहरी बुथमा उनीहरूलाई खटाइएको हो । आज बुधबार खटाइएका सबै मंगलबार कारबाहीमा परेकाहरू हुन् । ‘स्वयंसेवक’हरूलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पालैपालो एक घण्टाका दरले सडकमा खटाइने श्रेष्ठले बताए ।

गृहमन्त्री लामिछानेले महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाउने भन्दै सडक नियम उल्लंघनमा कारबाही गरिएकाहरूलाई स्वयंसेवकु बनाएर सडकमा उतार्ने मंगलबार फेसबुकमार्फत घोषणा गरेका थिए । कारबाहीमा परेकाहरूलाई भोलिपल्ट बुधबार बिहानैदेखि खटाइएको हो । ‘यो अब निरन्तर हुन्छ।’ श्रेष्ठले भने, ‘आपत्कालीन वा बिरामी अवस्थाबाहेक गम्भीर उल्लंघन कारबाहीमा परेका सबैले सडकमा स्वयंसेवकको रूपमा खट्नुपर्ने हुन्छ ।’

मापसे, लापसे, लेन क्रसलगायतमा कारबाही परेकाले जरिवानासँगै १ घण्टा सचेतना कक्षा लिनुपर्ने नियम छ । तर, अब जरिवानासँगै ट्राफिक प्रहरीले शारीरिक श्रमसमेत गराउन थालेको भन्दै कतिपयले यसको विरोध गरेका छन् । यसलाई ‘स्वयंसेवक’ भनेर प्रचार गरिएको छ । यसरी धेरै मानिस प्रभावित हुने निर्णय गृह मन्त्रालयले वेबसाइटमा राखेको पनि छैन । महिला ट्राफिक प्रहरीको विषयमा लिइएको निर्णयलाई धेरैले स्वागत गरे पनि नागरिकलाई जबर्जस्ती सडकमा ड्युटी गराउने नियमको विरोध भएको छ ।