उखरमाउलो गर्मी पश्चिमदेखि पूर्वी तराईतिर फैलिदै, मनसुन १० दिनपछि मात्र
काठमाडौं– नेपालको पश्चिम तराईका जिल्लाहरूमा बिहीबार पनि उखरमाउलो गर्मी छ । गर्मीका कारण जनजीवन नै कष्टर बनेको छ ।

बिहीबार देशमा सबैभन्दा धेरै गर्मी धनगढीमा भएको छ । धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । यो वर्षको सबैभन्दा धेरै तापक्रम मापन गरिएको हो ।
उता नेपालगञ्जमा ४३ डिग्री सेल्सियस तापक्रम छ भने बर्दियाको तापक्रम पनि ४३ डिग्रीय सेल्सियस छ । उता भैरहवा ४० डिग्री सेल्सियस पुगेको छ ।
![]() |
![]() |
![]() |
|---|
मौसम पूर्वानुमान महाशाखाले १५ जेठमा विशेष बुलेटिन जारी गर्दै तराईका जिल्लाहरूमा लू चल्ने चेतावनी दिँदै सतर्कता अपनाउन भनेको थियो ।
महाशाखाले १८ जेठसम्मको पूर्वानुमान बुलेटिन जारी गरेको थियो । जसमा पश्चिम तराईमा लू चल्ने जनाइएको थियो । उसको पूर्वानुमानअनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा अत्यधिक गर्मी छ ।
महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले अर्को बुलेटिन जारी हुनसक्ने बताइन् । उनले भनिन्, ‘भोलि (शुक्रबार) अर्को बुलेटिन जारी गर्छौं होला । वर्षा हुने कुनै प्रणाली नबनेपछि गर्मी पूर्व तराई र मध्य तराईमा पनि बढ्ने देखिएको छ ।’ उनले बागमती प्रदेशका तराईका जिल्ला, मधेश प्रदेश र कोशी प्रदेशका जिल्लाहरूमा पनि तापक्रम बढ्ने लू चल्न सक्ने बताइन् । अहिले पश्चिमी वायुको कारण कतै पनि प्रणाली विकसित नभएकाले तत्कालन पार्नी पर्ने सम्भावना नदेखिएको बताइन् ।
तराईका चलिरहेको यो हिटवेभबाट छुटकारा मनसुन प्रवेश नभएसम्म पाइने देखिँदैन । मौसमविद् मानन्धरका अनुसार यो वर्ष मनसुन तीन दिन ढिला गरी भित्रिने अनुमान छ ।
Image Source: © https://mulpatra.com
सामान्यतया १० जून नेपालमा मनसुन भित्रिने मिति हो । योपटक १३ जूनमा मनसुन भित्रिने सम्भावना रहेको उनले बताइन् । भारतको केरलामा १६ जेठमा मनसुन भित्रिएको छ । सो मनसुन नेपालसम्म आइपुग्न कम्तीमा १० दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ ।



