भारतभन्दा पहिलो प्रधानमन्त्री ओलीले अमेरिका भ्रमण गर्दै

भारतभन्दा पहिलो प्रधानमन्त्री ओलीले अमेरिका भ्रमण गर्दै
  • १७ श्रावण २०८१, बिहीबार ११:१२

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो अर्को महिना थाइल्यान्ड र अमेरिकाको भ्रमण गर्ने भएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सेप्टेम्बरमा थाइल्यान्डको बैंककमा हुने भएकाले त्यसमा सहभागिताका लागि प्रधानमन्त्री ओली जाने भएका हुन् ।

भ्रमणको तयारी भइरहेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भ्रमणलाई दुईपक्षीय बनाउने गरी भइरहेको पनि उनले जानकारी दिए । सेप्टेम्बर ४ वा ५ मा शिखर सम्मेलन हुने गरी अनौपचारिक छलफल भइरहेको छ । यसबीचमा आकस्मिकरूपमा अरू देशमा भ्रमण भएन भने प्रधानमन्त्रीको चौथो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्ड हुनेछ ।

सेप्टेम्बर १० मा संयुक्त राष्ट्र संघको ७९ औँ महासभा हुँदै छ। थाइल्यान्ड भ्रमणलगत्तै प्रधानमन्त्री ओली अमेरिका जान सक्नेछन् । सेप्टेम्बर २४ देखि ३० सम्म महासभालाई सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने तालिका छ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने कार्यक्रम छ ।