बंगलादेशको बाछिटा नेपाल चाँडै आउँछ, हसिनाले जस्तै नेता भाग्नुपर्छ :प्रसाई
काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले पदबाट राजीनामा दिएकी छन् । उनी सोमबार राजीनामा दिएर भारततर्फ भागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले देश छाडेपछि बगलादेशका सेनापति वाकर उज–जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने बताएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ गएपछि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आन्दोलनकारीहरूले प्रधानमन्त्रीको सरकारी निवास आन्दोलनकारीले नियन्त्रणमा लिएपछि उनी भाग्नुपरेको थियो । बंगलादेशको जस्तो आन्दोलन दुई बर्षयता मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दु्र्गा प्रसाईले पनि चलाउँदै आएका छन् ।
प्रसाईले उठाएका आवाज पनि बंगलादेशको अहिलेको अवस्था सँग मिल्दोजुल्दो छ । अहिले बंगलादेशको जस्तो राजनीतिक अवस्था नेपालमा पनि भित्रिने प्रसाईको दाबी छ । उनका अनुसार नेपालमा पनि जनताले राजनीतिक दलमाथि यस्तै गर्न खोजेरहेको उनी बताउँछन् ।
हाल नेपाली जनता पनि बंगलादेशमा जस्तै वाक्क दिक्क भएका छन् । गत मंसिरमा बंगलादेशको जस्तै अवस्था नेपालमा आउन लागेको थियो । तर राज्यको सबै शक्ति लागेर आफनो आन्दोलन दबाएको उनले बताए । ‘नेपालमा पनि बंगलादेशको जस्तै अवस्था आउँछ । अहिले जनताले पनि त्यही खोजेका छन् । नेपाली जनता अब सचेत हुनुपर्ने अवस्था आएको छ ।’ उनले भने ।
सरकारी सेवामा आरक्षण लागू गर्ने सरकारको निर्णयविरूद्ध बंगलादेशका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । यी आन्लोदन प्रधानमन्त्री सेख हसिनालाई भारी भएको थियो । सरकारले आरक्षणमा केही कटौती गरे पनि आन्दोलनरत विद्यार्थीहरू पछिल्लो समय प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग गरिरहेका थिए ।
सरकारी सेवामा आरक्षणको विरोधमा बंगलादेशमा गत जुलाई महिनादेखि विद्यार्थी आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा भारी हिंसाका साथै आगलागीका घटनाहरू भएका छन् । बंगलादेशमा जारी आन्दोलनमा हालसम्म तीन सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
बंगलादेशमा आरक्षणमा केही कटौती गर्दा यस्तो अवस्था आयो । नेपालमा प्रसाईले उठाएका आवाज सहकारी, बैंक वित्तीय तथा मिटरब्याजीका छन् । बैंक पीडित र यसबाट ठगिएका भुँइमान्छेको आवाज प्रसाईले उठाउँदै आएका छन् । हाल प्रसाईको महाअभियानका ठुलो संख्यामा सबै क्षेत्रका पीडित जोडिएका छन् । उनको महाअभियानको आन्दोलनमा विदेशी शक्तिको ध्यान तानिएको छ ।
