सुपारीमा चलखेलले किसान मर्कामा

नेपालको औषतमा ४०४७ भन्दा बढी हेक्टरमा खेति भइरहेको सुपारी खेतिमा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर लगायतका जिल्लाहरुमा अझ आकर्षण बढिरहेको छ । नेपाल सरकार अन्तर्गतको कृषि मन्त्रालयको आँकडा अनुसार नेपालमा हाल चौध हजार पाँचसय बाउन्न मेट्रिकटन सुपारी उत्पादन भइरहेको छ ।
थोरै लगानी र कम मेहनतमा खेति गर्न सकिने भएको र खरिद गर्न घर घर नै व्यापारी आइपुग्ने भएकोले पनि सुपारी खेतिमा किसानहरुको आकर्षण बढिरहेको छ ।
झापाको शान्तिनगर सुपारी खेतिका लागि सबैभन्दा उर्वर ठाउँ हो । हाल बुद्धशान्ति वडा नं. ५ मा पर्ने शान्तिनगरका किसानहरुको घरमा सुपारीको बोट नभएको कोही भेटिदैन । तिनै सुपारी खेति गर्ने किसानहरु मध्येका हुन गिताप्रसाद अधिकारी । उनको करिब १ विगाहा मा सुपारीको बगान छ ।
‘७०० बोट जति छ मेरो बगानमा,’ उनले भने ‘थोरै लगानी र कम मेहनतमा खेति गर्न सकिने भएको र खरिद गर्न घर घर नै व्यापारी आइपुग्ने भएकोले पनि सुपारी खेतिमा किसानहरुको आकर्षण बढिरहेको छ ।’
‘सुपारी रोपणमा किसानहरुको चासो बढीरहेको बेलामा मैले पनि नयाँ बोट थप गरि खेति विस्तार गर्न विरुवा लगाएको थिएँ यसपाली भाउ आएन,’ उनले भने पोहोर साल बार्षिक सरदर तीन लाख आम्दानी गरिरहेका थिएँ, फल फल्ने नयाँ बोट थपिएपनि भनेजस्तो भाउ पाउन सकिएन, यसपाली घाटा लाग्यो’ ।
‘फुल फुले देखि आएका व्यापारीलाई धेरैले बेचिसकेका थिए, मैले चाँहि पछि भाउ आउँछ भनेर राखेँ अहिले भाउ घटेर काँचो सुपारीको किलोको ४०–४५ मा आइपुग्यो । सुपारी पाकेर झर्दै नास हुन थालेपछि हतार हतार बगानै विक्री गर्न वाध्य भएँ ।’
मेचिनगर नगरपालिका वडा नं. ३ बाहुन्डाँगीका अर्का किसान पुष्प गुरागाइँको पीडा पनि उस्तै छ । सुपारीमा काम गर्ने संस्थाहरु किसानहरुसँग जोडिएर जान नसकेको र व्यापारीको नजिक भएर काम गरिरहेकाले किसानले मुल्य पाइरहेको छैन भन्दै उनले भने ‘डेढ विगाहामा विरुवा लगाएको छु, हुन्डामुन्डा २ लाख ११ हजार मा विक्री गर्न वाध्य भएँ । सुपारीमा पोहोर साल भन्दा भाउ नपाएर घाटा खाएको बताए ।
‘अहिले फुल लागिसक्यो पोहोर यतिबेला सम्म व्यापारीहरु बगान किन्न आइपुग्थे यसपाली आका छैनन, कही बगान विकेको थाहा पाइएको छैन । यसपाली घाटा भएकाले व्यापारी किन्न आएका छैनन भनेपछि अब हुने उत्पादनमा किसानले झन मुल्य नपाउने निश्चित छ’
‘राज्यले उचित नीति लिइदिने र सुपारीका विभिन्न संस्थाहरु समेत किसानको हितमा काम गर्ने हो भने किसानले आफै फाला बनाउन सक्छन, उसिनेर लालि उत्पादन गर्न सक्छन तर काट्न, सुकाउन औजारको समस्याले हामीले सास्ती खेपीरहेका छौं,’ उनले भने ‘राज्यले किसानलाई सुपारी काट्ने, सुकाउने मेसिन उपलब्ध गराए किसानले सुकाएर राखेर भाउ आउँदा बेच्थे र फाइदा गर्थे ।’
शनिअर्जुन नगरपालिका झापामा सबैभन्दा धेरै सुपारी खेति भएको नगरपालिका हो । सोही नगरपालिका वडा नं. १ का किसान शान्ति सापकोटा को पनि १० कट्ठा जग्गामा सुपारी लगाएका छन । बुद्धशान्ति र मेचिनगरका किसान झै उनको पनि समस्या उही छ । सुपारीको विषयमा जिज्ञासा राख्दा हुनले भने ‘यसपाली सुपारीको भाउ आएन’ ।
‘गतबर्ष सरदर सत्तरी रुपैया प्रति केजी मा बोटबाटै विक्री गरेको थिएँ । यसपाली पनि सुरुवातीमा साठी सम्म दिन आएका थिए, पछि मुल्य पाइन्छ कि भनेर नदिइ राँखे अहिले बजार मुल्य नै घटेर चालिस रुपैया सम्म आइपुग्यो’ उनले भने ‘यस्तै हो भने धान खेत मासेर सुपारी लगाएका किसानले के गर्छन ?’ ।
माथीका तीन जना सुपारी खेतिगर्ने किसानका प्रतिनिधि पात्र मात्र हुन । सजिलो, कम खर्चिलो र नगदै आम्दानी हुने भएपछि सुपारी खेतिमा आकर्षित किसानहरुको समस्या एकातिर छ भने ती किसानहरुलाई सजिलो बनाउन घर घरमा गएर सुपारी किन्ने व्यापारीहरुको समस्या समेत आफ्नै किसिमको छ ।
विगत लामो समयदेखि सुपारी उत्पादन तथा व्यवसायमा समेत हात हालेका बाहुन्डाँगीका केदार निरौला सुपारी विज्ञका रुपमा समेत चिनिन्छन । नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघ नेपालको उपाध्यक्ष समेत रहेका उनको सुपारी व्यापारबारे यसो भन्छन ‘सुपारीले तनाव भयो सुपारीको दाम पाइएन’ ६०० मा किसानको सुपारीको सौदा गरेको ४०० मा पनि विक्री छैन ।’
‘बोटबाट काँचो सुपारी ६०ः ७० सम्म खरिद गर्ने गरि बैना गरेका व्यापारीहरु सुकाएको सुपारीको दाम ४०० मा आएपछि तनावमा छन । लाली उत्पादन गर्दा केही फाइदा हुने भनेर लाली बनाएका व्यापारीहरु पनि मुल्य ५०० सम्म आएपछि पुरपुरोमा हात लाउन बाध्य छन ।’
व्यापारी मध्ये शनिअर्जुन नगरपालिका वडा नं. ९ का शंकर चौहान पनि साना व्यवसायि हुन, किसानको बगानबाट सुपारी किनेर चटाल चलाउने, छोडाउने, पकाउने गर्ने उनी जस्तै थुप्रै व्यवसायी छन उनको गुनासो अलग्गै छ । ‘गएको बालिमा सुपारी किसानले भाउ पाए तर व्यापारीको हानथाप र अनावश्यक प्रतिस्पर्धाले व्यापारी मर्ने परिस्थिति आए’ भन्दै उनी भन्छन ‘हाल नेपालमा सुपारी विक्री गर्ने परिस्थिति छैन, न भारत जान सक्ने वातावरण छ, उल्टै विचमा भारतबाट सुपारी लुकीछिपी आयो, जसले गर्दा पोहोर भन्दा भाउ घटेको छ, व्यापारी मरेका छन ।’ सुपारीमा अनावश्यक बखेडा आइरहने र व्यवसायीहरु सुरक्षित नहुनुमा विचौलिया हावी भएको भन्दै उनि थप्छन ‘भारतमा अहिले सुपारीको भाउ कम छ त्यसैले नेपालको सुपारी भारत जान सकिरहेको छैन, चटाल गरेर सुपारी तयारी गर्नेहरुको सुपारी महंगो भएकाले घाटा खाए, तेश्रो देशबाट आयात गरेको सुपारीलाई गुट्खा, पानपराग उत्पादन गर्नेले प्रयोग गर्नाले यो समस्या आएको हो । किसानले बर्षेनी भाउ बढाउने बजारमा चाहि भाउ नबढ्ने कारण व्यापारी मर्कामा परिरहेका छन । यता किसानहरुबाट संकिलित सुपारी विजक काटेर बाहिरी जिल्लामा पठाएको सुपारी पनि पक्राउ पर्ने परिस्थिति छ, तस्करीका कारणबाट र त्यसही पक्राउ गर्दा पनि सुपारीसँग सम्बन्धित संस्था नबोल्नेले व्यापारीको हित र सुरक्षा छैन, उनीहरु व्यक्तिगत फाइदामा लागेको देखिन्छ, विगतमा फुल फुल्दै गर्दा बगान किन्न पुग्ने व्यापारीहरु हालसम्म कुनै बगानमा बैना गर्न सकेका छैन, यसले सुपारी किसानलाई समेत असर गर्दैछ र यस्तै हो भने यो सिजनको किसानको सुपारीको दाम ३०–४० मा झर्ने निश्चित छ तर खै कसले बुझ्छ यो किसान र साना व्यापारीको मर्म ।’