आर्थिक चलखेलमा टिकटक प्रधानमन्त्री ओलीले खुलाएको आशंका
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । योसँगै अब नेपालभर निर्वादरूपमा टिकटल चलाउन पाइनेछ ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटकमा प्रतिबन्ध लगाएको ९ महिनामै ओली नेतृत्वको सरकारले फुकुवा गरेको हो ।
प्रचण्ड नेतृत्वको सरकारले टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको थियो । प्रचण्ड सरकारले टिकटकलाई मुख्यतः तीन बुँदे मापदण्ड पूरा गर्न परिपत्र नै पठाएको थियो । दाहाल नेतृत्वको सरकारले कानूनी तथा नीतिगत पक्ष, सामग्री नियमन र सहजीकरण र नेपालमा लगानी तथा सामाजिक उत्तरदायित्व गरी मुख्य तीन बुँदे शर्त पेश गरेको थियो ।
![]() |
![]() |
![]() |
|---|
तत्कालीन सरकारले नेपालको स्वीकृत पाठ्यक्रम अनुसार सामुदायिक विद्यालयका लागि डिजिटलाइज पाठ्यसामग्री, सिकाइ कक्षा, छात्रवृति, विद्यालय डिजिटलाइजेसन लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सामुदायिक विद्यालयलाई आईसीटी ल्याब इन्टरनेटको सुरक्षित प्रयोग तथा यससम्बन्धी आम जनतालाई सुसूचित गर्न नेपाल सरकारको सुझाव अनुसार डिजिटल साक्षरता अभियान सञ्चालन गर्नुपर्ने, नेपालको आर्थिक तथा सामाजिक विकासका लागि पर्यटन लगायतका क्षेत्रको प्रचार प्रसारमा सघाउनुपर्ने सर्त राखिएको थियो ।
टिकटकले मापदण्ड पूरा नगरेपछि र ती सर्तहरूमा सहमत नभएपछि दाहाल नेतृत्वको सरकारले टिकटकमा प्रतिबन्ध लगाएको थियो । तर, ओली नेतृत्वको सरकारले भने कुनै कारण नखुलाई टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारले टिकटक खुलाएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने यसमा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने शंका गरेका छन् ।
तत्कालीन प्रचण्ड नेतृत्वको सरकारको मुख्य सत्ता साझेदार थियो नेकपा एमाले । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै प्रचण्डलाई टिकटकमा प्रतिबन्ध लगाउन सुझाव दिएका थिए । तर, अहिले उनले नै टिकटक खुलाउने निर्णय गरेका हुन् ।
टिकटक बन्द गर्नका लागि नै ओलीले प्रचण्डलाई बारम्बार दबाब दिएको बुझिएको छ । त्यतिबेला टिकटक बन्दु हुनुमा भूराजनीतिक कारण रहेको टिप्पणी भएको थियो ।
Image Source: © https://mulpatra.com
प्रचण्डलाई टिकटक बन्द गर्नुपर्छ भनेर दबाब दिएका ओलीले अहिले आफैंले खुला गर्ने निर्णय गरेका छन् । जसले उनमिाथि प्रश्न उठाइरहेको छ ।



