ओलीको अवसरवादी चरित्र देखियोः बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतले नदीतटको मापदण्ड केपी ओली सरकारकै पालामा निर्णय गरेपनि त्यतिखेर केहि नबोली अहिले आएर विरोध गर्नु अवसरवादी चरित्र जस्तै भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २० साउन ०७६ मा नदीतटीय क्षेत्रको मापदण्ड २० मिटर थप्नेसहित १२ बुँदे आदेश दिँदा केपी शर्मा ओली नै प्रधानमन्त्री रहेको उल्लेख गरेका छन् ।
अदालतको फैसलामा तत्कालिन रुपमा प्रधानमन्त्री, बाग्मतीका मुख्यमन्त्री, काठमाडौं महानगरपालिकाका मेयर हुँदा कोही किन बोलेनन भन्दै उनले स्टाटसमा लेखेका छनः ‘प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन ।’
![]() |
![]() |
![]() |
|---|
‘हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूह सँग कुरा गर्दै काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने भनेको केही दिनमा बालेन शाहको स्टाटसले नयाँ तरंग ल्याएको छ ।



