रेबिज सप्ताह मनाउँदै मेचिनगरः नि:शुल्क खोपको व्यवस्था

रेबिज सप्ताह मनाउँदै मेचिनगरः नि:शुल्क खोपको व्यवस्था
  • ११ आश्विन २०८१, शुक्रबार १४:३१

झापा । विश्व रेबिज दिवसको अवसर पारेर झापाको मेचिनगर नगरपालिकाले रेबिज सप्ताह मनाउने भएको छ । विश्वभर सेप्टेम्बर २८ लाई रेबिज दिवसका रुपमा मनाउने गरिन्छ । यहि अवसर पारेर मेचिनगर नगरपालिकाले आज देखि सो कार्यक्रम शुरु गर्न लागेको सुचना मार्फत जनाएको छ ।


हरेक वर्ष विश्वमा रेबिजबाट लगभग ५९ हजार मानिसको मृत्यु हुने गरेको छ । एसियामा मात्रै यस रोगले ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । नेपालमा हरेक वर्ष रेबिजका एक सय नयाँ बिरामी देखिन्छन् ।


रेबिज र यसको रोकथामका बारेमा जागरुकता बढाउनका लागि ‘विश्व रेबिज दिवस’ मनाइने गरिएको हो । हरेक वर्ष २८ सेप्टेम्बरमा मनाइने यो दिवस विश्वभरका अनेक देशमा मनाइन्छ । रेबिज जनावरहरूबाट मानिसमा सर्ने गर्दछ । रेबिज नामक भाइरसद्वारा मानिसमा संक्रामक रूपमा फैलिने यो रोग रबडोविरिडे परिवारको लिसावायरस जिन्सबाट पैदा हुन्छ । रेबिजले विश्वभरि पछिल्लो ५ वर्षमा कोरोनाले भन्दा धेरैको ज्यान लिएको तथ्यांक छ ।


रेबिज लागेको कुकुरको शरीरमा लाइसा भाइरस हुन्छ । यो भाइरस कुकुरले मानिसलाई टोकेमा मानिसको शरीरमा प्रवेश गर्छ र प्रवेश गरेको एक महिनादेखि एक वर्षभित्र शरीरमा फैलिएर रेबिजका लक्षणहरु देखिन थाल्छन् । रेबिज लागेका मानिसहरुमा अँध्यारोमा बस्न रुचाउने, पानीदेखि डराउने, श्वास–प्रश्वासमा समस्या हुने र अस्वभाविक गतिविधि गर्ने जस्ता लक्षण देखिन्छन् । यो रोग लागेको मानिसको उपचारपछि पनि निको हँदैन तर कुकुरले टोक्ने बित्तिकै रेबिजविरुद्धको खोप लगाएमा भने रेबिज लाग्दैन ।


यस्तो खतरनाक रोग रेबिजका विरुद्ध रेबिज सप्ताह मनाउने क्रममा नगरपालिकाले विभिन्न आठ स्थानमा रेबिज सम्बन्धी जनचेतनामुलक कार्यक्रम सन्चालन गर्ने भएको छ । साथै स्थानीयले पालेका घरपालुवा जनवार कुकुर, विरालो, बाँदरलाई निशुल्क रेबिजको खोप लाउने समेत व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटाले जानकारी दिएकी छिन ।